सुर्खेतका पालिकाहरु पनि जुटे बजेट निर्माणमा

होस्ट खबर ९ असार २०८०, शनिबार
2 Min Read
Aa

सुर्खेत : सुर्खेतका स्थानीय तहहरु बजेट निर्माणमा जुटेका छन् । संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइसकेपछि स्थानीय तहहरु पनि बजेट निर्माणमा जुटेका छन् । पालिकाहरू आगामी बजेटमा समावेश गरिने योजना र कार्यक्रम बनाउने अन्तिम तयारीमा छन् ।

यतिबेला जनप्रतिनिधि र कर्मचारी बजेट निर्माण र योजना छनौटका लागि व्यस्त छन् । प्राथमिकताअनुसार योजना छनोट गर्ने र आवश्यक बजेट विनियोजनको लागि गृहकार्य भइरहेको पालिहरुले जनाएका छन् । स्थानीय सरकारले असार १० गतेभित्र वार्षिक बजेट गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको विवरण तयार हुँदैछ । बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट आएका योजनाहरूको प्राथमिकरण हुँदैछ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका पनि यतिबेला बजेट निर्माणको तयारीमा छ । विषयगत शाखाहरूमा पनि यतिबेला टोलबाट आएका योजनामाथि छलफल चलिरहेको छ । नगरप्रमुख हस्त पुनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी भइरहेको बताए । विगतमाजस्तै आगामी आर्थिक वर्षमा समेत स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रमै केन्द्रित गर्नेगरी बजेट ल्याउने तयारी भइरहेको पुनको भनाइ छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पनि बजेट ल्याउने तयारी गरेको छ । नगरप्रमुख लालविर भण्डारीले सबै वडामा बस्तीस्तरीय भेला सकेर भेलाबाट आएका योजनाहरू वडामार्फत नगरसभामा पठाउने काम भइरहेको जानकारी दिए । ‘

सुर्खेतकै बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले पनि निर्धारित समयभित्रै बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याइने भण्डारीले बताए । भण्डारीका अनुसार अहिले सबै वडाबाट आएका योजनाको विषयगत शाखामा छलफल भइरहेको छ ।

यसपटक संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान घटेकाले पालिकाको बजेटको आकारसमेत घट्ने भएको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण र राजस्व बाँडफाँडतर्फको बजेट घटेर आएकाले बजेटको परिधि खुम्चिने पालिकाले जनाएका छन् । चालु आर्थिक वर्षको भन्दा बजेट घटाउनुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन् । अनुदान कटौतीका कारण बजेटको आकार घट्नुका साथै प्राथमिकताक्रम फेरिने देखिएको छ । आम्दानीसमेत न्यून भएकाले बजेटको सीमा परिवर्तन गर्नुपरिरहेको छ ।’ नगरपालिकामा वित्तीय समानीकरणतर्फ दुई करोड बजेट घटेर आएको गुर्भाकोट नगरपालिकाका पालिका प्रमुख पुनले जनाए । ईकागजबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्