बर्दियामा बाघ हेर्न पर्यटकलाई निम्तो

होस्ट खबर ४ असार २०८०, सोमबार
2 Min Read
Aa

बर्दिया : बाघ हेर्न पर्यटक बोलाउँदै बर्दियाका पर्यटन व्यवसायी काठमाडौं आएका छन् । कोभिड महामारी र आर्थिक मन्दीले थलिएको पर्यटन क्षेत्र उकासिँदै गएका बेला बर्दियाका पर्यटन व्यवसायी पर्यटक बोलाउन पोखरा हुँदै काठमाडौँ आएका हुन् ।

‘वन्यजन्तुमा आधारित पर्यटन प्रवर्द्धन कार्यक्रम’ गर्दै बर्दियाका पर्यटन व्यवसायी तथा अभियन्ता काठमाडौं आएर बाघ हेर्न पर्यटक बोलाएका हुन् । पछिल्लो समय बर्दियामा बाघको संख्या बढेसँगै बाघ हेर्ने पर्यटक पनि बढेका छन् ।

प्रकृति पथ प्रदर्शक संघ, पर्यापर्यटन विकास मञ्च, होटल संघ नेपाल बर्दिया च्याप्टरले आइतवार पर्यटन बोर्डमा कार्यक्रम गरेर बर्दियाका पर्यटन व्यवसायी तथा अभियन्ताले बर्दियामा बाघ हेर्न पर्यटकलाई आह्वान गरेका हुन् ।

ठाकुरबाबा नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐर, होटल एशोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, पर्यटन व्यवसायी मेघ आले लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बर्दियाका पर्यटन अभियन्ता तथा पर्यापटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बर्दिया पर्यापर्यटनका दृष्टिकोणले विश्वकै उत्कृष्ट रहेको भन्दै बर्दिया आउन पर्यटकलाई आह्वान गरे । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ, गैँडा, हात्ती लगायत वन्यजन्तु रहेको भन्दै उनले बर्दियामा पर्यटकको स्वागतका लागि आफूहरु पर्खिरहेको बताए ।

‘विश्वका सञ्चारमाध्यमले उत्कृष्ट गन्तव्यका रुपमा परिचित गराएको बर्दियामा स्वागतका लागि हामीहरु पर्खेर बसेका छौँ,’ उनले पर्यटन बोर्डको कार्यक्रममा भने, ‘तपाईलगायत स्वदेशी तथा विदेशी पर्यटक बर्दिया आउनुहुनेछ भन्ने आशामा बसेका छौं ।’

 

बाघ आयो, माइ लर्ड !
कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐर, हानका अध्यक्ष विनायक शाहले पनि बर्दिया पर्यटकीय गन्तव्यका हिसाबले उत्कृष्ट रहेको धारणा राखेका थिए । बर्दियामा बाघको संख्या बढेपछि जंगल सफारी गर्ने पर्यटकको संख्या बढेको छ ।

कोभिडपछि मुश्किलले तंग्रिएको पर्यटन क्षेत्र पछिल्लो समय आर्थिक मन्दीको संकटमा परेपछि बर्दियाका पर्यटन व्यवसायी तथा अभियन्ता प्रवर्द्धनात्मक कार्यक्रम गर्दै पोखरा हुँदै काठमाडौँ आएका हुन् । कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने पथ प्रदर्शकले आफ्नो अनुभव सुनाएका थिए भने बर्दियाको पर्यटनबारे समेटिएका फोटो तथा भिडियो पनि प्रदर्शन गरिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्