कर्णाली प्रदेश अस्पताललाई हेलिप्याडसहितको पाँच सय शैय्याको बनाइदै

होस्ट खबर ३२ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

सुर्खेत : तीन सय बेडसहितको सुविधा प्रदान गर्दै आइरहेको कर्णाली प्रदेश अस्पताललाई थप विस्तार गर्न लागिएको छ । हाल सेवा प्रवाह गरिरहेको भवनमा हेलिप्याडसहितको पाँच सय शैयाको अस्पताल निर्माण गर्न सम्झौता गरिएको हो ।

प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्का र गौरा श्याम सुन्दर जेभी काठमाडौंविच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको छ । कुल एक अर्ब दुई करोड ४२ लाख ७२ हजार लागतमा अस्पतालमा एक तला थप गरिँदैछ । गुणस्तरिय र स्तरिय सेवा प्रदान गर्दै आइरहेको अस्पतालले विरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहनेगरी तला थप गर्न लागेको अस्पतालका निर्देशक प्रा.डा. खड्काले बताए ।

‘मेडिकल कलेज सञ्चालन लागि अहिले नै मापदण्ड पूरा गरिसकेका छौं,’ खड्काले भने, ‘तला थप भएमा भिआइपी उपचार कक्ष, डिलक्स, क्याविन कक्ष लगायतका सुविधाहरु एड हुनेछन् ।’

अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहेन र त्यसैको माथि हेलिप्याड निर्माण गरिने निर्देशक खड्काले जानकारी दिए । उनले अप्रेशन कक्ष, ल्याब, एक्सरे, एमआरआई भवन छुट्टै राखिनेछ । हाल प्रदेश अस्पतालमा दैनिक तीन सय जना उपचारका लागि आउने गरेका छन् ।

शिक्षण अस्पताल भएमा विद्यार्थीहरुलाई अध्ययन गराउने कोठा र बस्नेसहितको सुविधा पनि नयाँ भवनमा थप हुनेछ । निर्माण व्यवसायीले हाल सेवा प्रवाह गरिरहेको भवन तीन वर्षमा सक्ने सम्झौता थियो ।

तर उसले दुई वर्ष पाँच महिनामा निर्माण सम्पन्न गरेको हो । सोही निर्माण व्यवसायीले कामको जिम्मेवारी पाएकाले विरामीहरुलाई कुनै असर नगर्नेगरी निर्माण थाल्ने प्रतिवद्धता जनाएको छ ।

२०८२ मंसिरसम्म निर्माण अवधि रहेपनि लक्ष्य अगावै काम सक्नमा आफू प्रतिवद्ध रहेको बताएको छ । निर्माण व्यवसायले अस्पतालको तला थपका लागि अस्पताल परिसरमा क्याप स्थापनाको काम शुरु गरेकाले केही दिनमा अन्य भौतिक कामहरु शुभारम्भ गर्ने जानकारी दिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्