पुर्ख्यौली थलो ‘दुल्लु, दहगाउँ’ आउँदा निकै खुशी छु: प्रधानमन्त्री प्रचण्ड

होस्ट खबर ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्नो पुर्ख्यौली थलो दहगाउँ आएर प्रतिमा अनावरण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । दैलेखको दुल्लु नगरपालिका –१२ दह गाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताए ।

बत्स गोत्रीय दहाल, लम्साल, रुपाखेती कुँवर, राणा परिवारका आदिपुरुष कुल शिरोमणि दासुको शालिक (प्रतिमा) अनावरण गर्न प्रधानमन्त्री प्रचण्ड पूर्ख्यौली गाउँ दह आज पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नो बुबाले आफ्नो पुर्ख्यौली थलो पश्चिम रहेको बताए पनि जुम्लाको दह वा दैलेखको दह कहाँ हो भन्ने अन्यौल भएका बेला दह गाउँमा आफुहरुको पुर्ख्यौली थलो भएको पुष्टि भएपछि खुशी लागेको बताए । उनले दह गाउँको मात्र विकास नभएर समग्र दैलेखको र पञ्चकोशी क्षेत्रको विकासका लागि सहयोग गर्ने बताए ।

उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण, नेपालगञ्ज हुँदै नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशी सडक, पञ्चकोशी क्षेत्रको गुरुयोजना अनुसार विकासगरी दैलेखलाई पर्यटकीय हव बनाउन विशेष ध्यान दिनुपर्ने बताए । प्रचण्डले दैलेखको श्रीस्थानमा उत्खनन् गर्न लागिएको पेट्रोलियम पदार्थको अन्बेषणका लागि भएका कामको प्रगति र त्यसको हवाई अवलोकन समेत गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्