रायमाझीको रुन्चे मुस्कान र खाणको हताशा 

होस्ट खबर २ जेष्ठ २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्।

रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी मात्र नभएर रायमाझी एमालेका सचिव हुन् भने खाण कांग्रेस केन्द्रीय सदस्य हुन्। नेकपा माओवादीले १० वर्ष सञ्चालन गरेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट उदाएका रायमाझी शान्तिप्रक्रियामा आइसकेपछि अर्घाखाँचीबाट लगातार सांसद निर्वाचित हुँदै आएका छन्। यसैक्रममा उनी एकपटक उपप्रधानमन्त्री र एकपटक मन्त्री भएका भइसकेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री खाण पक्राउ परेपछि मात्र एमालेले उनलाई सचिव पदबाट निलम्बन गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका खाण नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा आएका नेता हुन्। यसरी महत्वपूर्ण राजकीय जिम्मेवारी सम्हालेका र पार्टी राजनीतिमा पनि प्रभावशाली भूमिकामा रहेका रायमाझी र खाणको राजनीतिक भविष्य शरणार्थी प्रकरणमा मुछिएसँगै संकटमा परेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेपछि रायमाझी र खाण दुवैजना असंयमित देखिएका छन्। प्रहरी अनुसन्धानमा तानिएपछि दुवैजनाको व्यवहारमा समेत अस्थिरता देखिएको छ। प्रकरणकै अनुसन्धानका क्रममा रायमाझीविरुद्ध वैशाख २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा फरार हुन पुगे।

वैशाख २१ गते उनी भैरहवाबाट फरार भएका थिए। पक्राउ पुर्जी जारी भएको १२औं दिनमा उनी काठमाडौंको बुढानीकण्ठ पासीकोटबाट पक्राउ परेका छन्। अर्घाखाँचीकै नारायण पौडेलको घरमा लुकेर बसेको अवस्थामा आइतबार राति उनी पक्राउ परेका हुन्। पक्राउ पुर्जी जारी हुनासाथ फरार भएपछि रायमाझीको राजनीतिक कद निकै खस्किएको छ। प्रहरी अनुसन्धानबाट भागेकाले उनी दोषी प्रमाणित भएको भन्दै टीकाटिप्पणी भइरहेको छ।

यसरी पक्राउ परेपछि प्रहरीले रायमाझीलाई सोमबार पहिलो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुपूर्व उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगिएको थियो। जहाँ पुगेपछि उनी प्रहरी भ्यानबाट कृत्रिम हाँसोसहित उत्रिए। अगाडि फर्किएर अभिभादन गरे। उनको त्यही हासोको अहिले चर्को आलोचना भइरहेको छ। त्यसपछि काठमाडौं अदालतबाट बाहिरिँदा भने उनको मुहारमा चमक थिएन। अदालतले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

‘खाण दाइले आफू निर्दोष रहेको बताइरहेका छन्। खाणले आफू निर्दोष भएको बताउने गरे पनि उनले प्रकरणमा रकम लिएको प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ। हिरासतमा पुग्दा खाणले लगातार देखाइरहेको व्यवहारमा चरम हताशा छ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्