२१ वर्षपछि नेपाल एसिया कपमा

होस्ट खबर २० बैशाख २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं : २१ वर्षको लामो पर्खाइपछि नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गरेपछि नेपालले उपाधि जित्यो ।

साथै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान पनि बनायो । फाइनलमा जितका लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य तेर्सिएकोमा नेपालले ३०।३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेपछि उपाधिसँगै एसिया कपको ढोका खोल्न सफल भयो ।

च्याम्पियन बनेसँगै नेपालले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा विश्व क्रिकेटका दुई शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्ने भएको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकपअघि एसियाका टोलीलाई तयारीको रूपमा एसिसीले आयोजना गर्ने गर्दछ ।

नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे ।

उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगे पनि प्रतियोगिता नै हुन सकेको थिएन । भारत र पाकिस्तानसँगको आन्तरिक विवादका कारण त्यो वर्ष एसिया कप नै रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array