उपनिर्वाचनमा कांग्रेस र एमालेलाई ‘हात लाग्यो शून्य’, रास्वपालाई फाइदा

होस्ट खबर १३ बैशाख २०८०, बुधबार
5 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभामा रिक्त रहेको तीन स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ । बैशाख १० गते आइतबार चितवन–२, तनहुँ–१ र बारा–२ मा भएको उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी दुई र जनता समाजवादी पार्टी ९जसपा०ले १ सिट जितेको छ ।

दुई क्षेत्रमा रास्वपाका उम्मेदवार भारी मतान्तरले निर्वाचित भएका छन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले र चितवन–२ मा रवि लामिछाने निर्वाचित भएका हुन् । यता बारामा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका उपेन्द्र यादव निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनले उपनिर्वाचनमा भागवण्डा गरेर उम्मेदवार उठाएका थिए भने रास्वपा, एमाले लगायत अन्य दलहरु एक्लाएक्लै मैदानमा उत्रिएका थिए । सत्ता गठबन्धनमा भागवण्डा गर्दा दुई क्षेत्र कांग्रेसले पायो भने एउटा जसपाले ।

कांग्रेसलाई गुन तिर्न यसपटक तीन वटै क्षेत्रमा माओवादीले उम्मेदवार उठाएन । तनहुँ र चितवनमा कांग्रेसको पूरै शक्ति र गठबन्धनसमेत लाग्दा पनि उसले गत मंसिरको साख जोगाउन सकेन । त्यहाँ रास्वपाका विजयी उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार निकै पछाडि परे ।

उपनिर्वाचन भएका दुई वटा क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले पुरानो जनमत पनि गुमाए । गत मंसिर ४ गतेको निर्वाचनमा पाएको मत पनि यसपटक यी दलले पाउन सकेनन् । तनहुँ–१ मा गत चैत १६ मा कांग्रेस छाडेर रास्वपा छिरेका डा।स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भए ।

वाग्लेसँग कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई १४ हजार ७९७ मतान्तरले पराजित भए । वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार भट्टराईले २० हजार १२२ मत मात्र पाए । यता एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाउँदा राप्रपाका उम्मेदवार शोभा गुरुङले २१८ मत मात्रै पाए ।

गत मंसिर ४ को निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल हालकै गठबन्धनको समर्थनमा २५ हजार ३६१ मतसहित विजयी भएका थिए । यसपटक कांग्रेसले ५ हजार २३९ मत गुमाएको छ । गत आमनिर्वाचनमा उक्त क्षेत्रमा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए । तर, यसपटक सर्वेन्द्र खनालले ८ हजार ४८८ मत मात्रै पाए ।

एमालेले यसपटक ११ हजार ४९३ मत गुमाएको छ । चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार १७६ मतसहित विजयी भए । यसपटक उनले एमाले र कांग्रेसका युवा उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए । तर, त्यहाँ पनि उनीहरुले मंसिर ४ को साख जोगाउन सकेनन् ।

कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । यसअघि चितवनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । तर, यसपटक एमालेले तीन हजार ७१६ मत गुमाएको छ । काग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए ।

यसपटक कांग्रेसले थप तीन हजार ८७८ मत कम ल्याएको छ । गठबन्धनकै साझा उम्मेदवार यादव भने बारा–२ बाट पुनः संसद छिर्न सफल भएका छन् । गत निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव यसपटक भने २८ हजार ४१५ मतसहित निर्वाचित भए ।

उपनिर्वाचनमा गठबन्धनका एक उम्मेदवारले जिते पनि कांग्रेस भने खाली हात भयो । प्रतिनिधिसभामा उसले कांग्रेसकै गढ मानिएको क्षेत्रमा एक सिट गुमाएको छ । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ–१ मा भएको उपचुनाव कांग्रेसका लागि प्रतिष्ठानको लडाइँ थियो ।

चुनाव जित्न कांग्रेसले महामन्त्री गगन थापालाई कमाण्डर नै बनाएर फिल्डमा खटाएको थियो भने गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । तर, वाग्लेका अगाडी उपनिर्वाचनमा गठबन्धनको कुनै जोर चलेन । उपनिर्वाचनमा एक्लै होमिएको एमालेको हात पनि खाली भयो ।

मिसन ग्रासरुट अभियान चलाएर चुनावी मैदानमा निस्किएको एमालेका उम्मेदवार तीनै क्षेत्रमा दोस्रो पनि हुन सकेनन् । चितवन–१ मा तेस्रो भएका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मतमात्र हात पारे । युवा नेता न्यौपाने एमाले चितवनका अध्यक्ष पनि हुन् ।

उता गत मंसिरको निर्वाचनमा काठमाडौं–६ मा हार बेहोरेका पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि तनहुँ–१ मा तेस्रो भए । उनले गृहजिल्ला मै ८ हजार ४८८ मतमात्र हात पारे । बारा–२ मा पनि एमाले उम्मेदवार तेस्रो भए । उपेन्द्रले जित निकाल्दा सो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्