देशले आज तेस्रो राष्ट्रपति पाउँदै

होस्ट खबर २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भएको छ । देशले आज तेस्रो राष्ट्रपति पाउँदैछ l निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार साँझ ७ बजेभित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाबानेश्वरभित्र मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदानस्थलमा नै मत गणना गर्नेछौँ र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने ।

संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ ।

३३२ मतदाता रहेको संघीय संसदको मतदान केन्द्रमा एउटा र ५५० मतदाता रहेको प्रदेशसभातर्फ दुई मतपेटिका राखिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । संघीय संसदमा ३३२ र प्रदेश संसदमा ५५० सांसदले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्ने छन् । संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार कायम गरिएको छ ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्