आजदेखि सुर्खेतमा दोस्रो औद्योगिक महोत्सव सुरू

होस्ट खबर २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी एवम् पर्यटन महोत्सव-२०७९ सुरू हुने भएको छ । कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवर्द्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार माघ २० गतेदेखि सञ्चालन हुने उक्त महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले जानकारी दिए ।

महोत्सवमा प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सामाग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मञ्च तयार गर्ने मेला आयोजक समितिका संयोजक विसीले बताए ।

‘उद्यमीका उत्पादनलाई महत्व दिइनेछ’, उनले भने, ‘यसका साथै स्वदेश तथा विदेशका उत्पादन तथा सेवाको प्रदर्शनसमेत गरिनेछ ।’

त्यस्तै, कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार–प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार९प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पुर्याउने आशा रहेको छ ।

महोत्सवमा ५ पाँच लाख दर्शकबाट अवलोकन गरिने मेला तथा प्रर्दशनीबाट करिब ४ करोड रुपैयाँको कारोवार हुने अपेक्षा राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको प्रर्दशनसँगै पहिलो पटक हिटर व्यालुन उडाउने मेलामा राखिएको संयोजक विसीले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्