नयाँ नागरिकता लिने प्रक्रिया रविले आइतबार नै सुरु गर्ने, फेरि निर्वाचन लड्ने

होस्ट खबर १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले रवि लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ । सबै पद गुमाएका लामिछानेले नागरिकता लिने प्रक्रिया सुरु गर्ने भएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि उनले यसअघि प्रक्रिया पूरा नगरेको ठहर सर्वोच्च अदालतले गरेको छ । योसँगै अब रवि लामिछानेले नागरिकता पुनः पाउनका लागि प्रक्रिया आइतबार नै सुरु गर्ने भएका छन् ।

सर्वोच्चको आदेशमा कुनै नकारात्मक टिप्पणी र आदेश नभएका कारण प्रक्रिया पुर्‍याएर रविले आइतबार नै नेपाली नागरिकताको प्रतिलिपी पाउन सक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array