माओवादीको चाहाना ‘कांग्रेसलाई राष्ट्रपति’

होस्ट खबर १३ माघ २०७९, शुक्रबार
4 Min Read
Aa

काठमाडौं : फागुन महिनाभित्र पाँच वर्षे कार्यकाल पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बिदा हुँदैछन् । सँगै, नयाँ राष्ट्रपति चयनका लागि दलहरूले अभ्यास सरू गरेका छन् । वर्तमान सत्ता गठबन्धनमा भएको भागबन्डालाई आधार मान्ने हो भने राष्ट्रपति एमालेको भागमा परेको मानिन्छ ।

तर, औपचारिक निर्णय भएको छैन । र, एमालेले राष्ट्रपति पाउने सम्भावना पनि कम हुँदै गएको देखिन्छ । गठबन्धनमा भागबन्डा हुँदा राष्ट्रपति एमालेले पाउने सक्ने भनिएको मात्र हो । तर, गठबन्धनबीच एमालेले नै राष्ट्रपति पाउने भन्ने विषयमा ठोस निर्णय वा सहमति भने नभएको एक माओवादी नेता बताउँछन् ।

तर, एमालेले आफूले नै राष्ट्रपति पाउने दाबी गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले विश्वासको मत नदिएको भए लगभग राष्ट्रपति एमालेले पाउने पक्का जस्तै मानिएको थियो । तर, कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै परिस्थिति फेरिएको छ ।

सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र पनि कांग्रेसले विश्वासको मत दिएसँगै कांग्रेसप्रति जिम्मेवारीबोध गर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री प्रचण्डले बारम्बार ‘कांग्रेसप्रति मेरो जिम्मेवारी छ’ भनिरहेका छन् । सत्तासँग सम्बन्धित निर्वाचनहरूमा माओवादी निर्णायक शक्ति हो । राष्ट्रपति निर्वाचनमा पनि माओवादी नै निर्णायक छ ।

त्यसैले माओवादीले जुन उम्मेदवारलाई समर्थन गर्छ उसैले राष्ट्रपति निर्वाचन जित्ने कुरामा दुईमत छैन । नेताहरूको पछिल्लो अभिव्यक्तिहरू सुन्दा माओवादी पनि ‘एमाले बाहेकबाट राष्ट्रपति’ भन्ने पक्षमा पुगेको बुझिन्छ । यसको मुख्य कारण अढाइ वर्षपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपति गरी तीनै पदमा एमालेले कब्जा जमाउने र त्यसबाट उत्पन्न हुने सम्भावित खतराहरू हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र एमालेकै विद्यादेवी राष्ट्रपति हुँदा भएका गतिविधि दोहोरिन सक्ने कुरामा माओवादी सचेत बनेको देखिन्छ । बिहीबार माओवादीको स्थायी समिति बैठक बसेको छ । बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीको लाइनबारे छलफल भएको छ ।

एक नेताका अनुसार अधिकांश नेताले एमाले बाहेकबाट राष्ट्रपति भन्ने पक्षमा धारणा राखेका छन् । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादीका सचिव देवेन्द्र पौडेलले माओवादीको लाइन स्पष्ट पारेका छन् । राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको नेता पौडेलको भनाइ थियो ।

नेता पौडेलले भने, ‘भोलि हुने सम्भावित दुर्घटना रोक्नका लागि राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्छ भन्ने हाम्रो लाइन हो । यसको मतलब कुनै एक दललाई बाइपास गर्नुपर्छ भन्ने होइन । एमाले, कांग्रेससहित सबै दलहरूबाट साझा व्यक्तिलाई राष्ट्रपति बनाउनु उपयुक्त हुन्छ ।’

नेता पौडेलले राष्ट्रिय सहमतिको प्रसंग उठाउनुको अर्थ राष्ट्रपति निर्वाचनमा कांग्रेसको पनि साथ आवश्यक भन्न खोजेका हुन् । राष्ट्रपति निर्वाचनमा सत्तारूढ दलले सत्ता समीकरणमा नरहेको दल कांग्रेसलाई पनि भागिदार बनाउन खोजेको विषयले एमालेमा भने तरंग पैदा भएको छ । एमाले अध्यक्ष ओली बारम्बार भनिरहेका छन्, ‘राष्ट्रपतिमा एमालेकै उम्मेदवार निर्वाचित हुन्छन् । यसमा कुनै शंका छैन ।’

राष्ट्रपति निर्वाचनको सन्दर्भमा राष्ट्रिय सहमतिको प्रसंग उठेपछि अध्यक्ष ओलीले केही दिन अघि संसदबाट बाहिरिँदै भनेका थिए, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ । एमालेका उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति बन्छ ।’ अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको नाममा राष्ट्रिय सहमति जुट्ने वा जुटाउनुपर्ने भनेका थिए ।

त्यसैदिन संसद्मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राखेका दिए । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रशंग उठे पनि राष्ट्रिय सहमति कायम हुने सम्भावना भने कम छ । किनकी, नेकपा एमाले कुनै पनि हालतमा राष्ट्रपति नछोड्ने पक्षमा छ । तर, सत्तारूढ दल माओवादी नै एमालेको चाहनासँग सहमत छैन ।

माओवादीको भित्री चाहना एमालेबाट नभएर कांग्रेसबाट राष्ट्रपति हुनुपर्छ भन्ने रहेका बुझ्न मुस्किल पर्दैन । माओवादीको यही बुझाइको आधारमा माओवादी कांग्रेसका उम्मेदवारलाई मतदान गरे कांग्रेसका उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछन् । तर, त्यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धन टुट्न सक्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array