मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

होस्ट खबर ३ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त एक उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाका ध्रुवबहादुर प्रधान कानुनमन्त्री बनेका छन् । राप्रपाकै विक्रम पाण्डे सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, माओवादीकै सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीकै सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन् ।

नेकपा एमालेका सांसद हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रूपमा शपथ लिएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा।तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् । गएको पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शपथ लिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए । पुस १० गते प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्