आन्तरिकर्फ सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना

होस्ट खबर २ माघ २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले सो विमान उडाएका थिए ।

सो विमान पोखराको टावरसँग सम्पर्कमा आएको एक मिनेटभित्रै सेती नदीको खोंचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३ शून्यमा ल्यान्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए ।

रनवे थ्री जेरोमार्फत ल्यान्ड गर्नुभन्दा चालकले होइन रनवे ‘वान टु’ बाट आउँछु भनेर अर्को रनवे खोजेका थिए । अर्को रनवेबाट आउन क्लियरेन्स दिनेबित्तिकै दुर्घटना भएको र सो दुर्घटना के कारण भयो भन्नेबारे अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ ।

आइतबारको दुर्घटनासँगै यती समूहद्वारा सञ्चालित एयरलाइन्सको एकै वर्षमा दुईवटा विमान दुर्घटना भएका छन् । यसअघि यती एयरको भगिनी संस्था तारा एयरको विमान पोखराबाट जोमसोम जानेक्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

यसअघि नेपाली आकाशका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १ सय ६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा १ सय १३ यात्रुले ज्यान गुमाएका थिए ।

त्यसपछि पछिल्लोपटक सन् २०१८ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३ सय ७३ जना यात्रुले ज्यान गुमाइसकेका छन् ।

आन्तरिक उडानतर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमानभन्दा ठूलो आन्तरिक दुर्घटना भएको थिएन ।

नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय चारवटा पुगेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array