कर्णालीमा एमालेको सरकार माग राख्दै बालकोट पुगेका नेताहरूलाई ओलीको यस्तो जवाफ !

होस्ट खबर २२ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं : प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश सरकार गठनका लागि २७ पुससम्मको समय दिएपछि एमाले र नेकपा माओवादी केन्द्रबीच आन्तरिक तयारी सुरु भएको छ ।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कर्णालीमा गठबन्धन दल एमाले र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सैद्धान्तिक सहमति जुट्न नसक्दा यो विषय बालुवाटार र बालकोट प्रवेश गरेको छ । सरकारको नेतृत्वका विषयमा आफ्ना फरक–फरक दाबी पेस गर्दै एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटलाई बाक्लो बनाउँदै गएका छन् ।

बिहीबार कर्णालीका एमाले नेताहरू यामलाल कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग राख्दै अध्यक्ष ओलीलाई भेट्न बालकोटस्थित ओलीनिवास पुगेका छन् । सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिनुपर्ने र कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित नेताहरू ओलीनिवास पुगेका हुन् ।

अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व नछोड्न दबाब दिन एमाले सुर्खेत जिल्ला कमिटीका नेताहरू ओलीनिवास बालकोट पुगेका हुन् । बालकोट पुगेका नेताहरूलाई अध्यक्ष ओलीले कर्णालीमा एमालेकै नेतृत्वमा सरकार बन्ने गरी गठबन्धनमा भागवण्डा गरिने आश्वासन दिएका छन् ।

‘अध्यक्षज्यूले कर्णाली प्रदेशमा एमालेको सरकार बनाउन कोसिस गर्ने आश्वासन दिनु भएको छ,’ भेटमा सहभागी एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटाले भने, ‘हामीले उहाँसँग विगतदेखि अहिलेसम्मको हाम्रो अवस्था र आवश्यकताका बारेमा कुरा राख्यौं, समग्र कर्णालीका विषयमा सकारात्मक छौँ भन्ने कुरा आयो । उहाँले जोडबल रहनेछ र गर्छु भनेर भन्नुभएको छ, सायद यो विषय भोलीसम्म टुङ्गो लाग्छ ।’

कर्णालीका एमाले नेताहरूले अध्यक्ष ओलीलाई भेटेको यो पहिलो पटक भने होइन । यसअघि मुख्यमन्त्रीका दावेदारसमेत रहेका यामलाल कँडेललगायत एमाले प्रदेश कमिटी तहका नेताहरूले अध्यक्ष ओलीसँग एमालेको नेतृत्वमा सरकार गठनका विषयमा छलफल गरिसकेका छन् ।

यस्तै, यो विषयमा माओवादी केन्द्रका प्रदेश कमिटीका नेताहरूले १७ पुसमै अध्यक्ष प्रचण्डलाई भेटेर कर्णाली सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिसकेका छन् । कर्णाली माओवादी केन्द्रको आधार इलाका र गठबन्धनमा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने विषयमा अध्यक्ष प्रचण्डसँग छलफल भएको माओवादी केन्द्र प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बताउँछन् । तर, अध्यक्ष प्रचण्डले गठबन्धनमा हुने सहमतिकै आधारमा सरकारको भागवण्डा हुने जवाफ दिएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array