आज मानवताका लागि सुर्खेतको खुल्लामञ्चमा नेपथ्यको लाइभ कन्सर्ट

होस्ट खबर ६ पुष २०७९, बुधबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबार नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ। सहयोगापेक्षीत मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले सुर्खेतको खुल्लामञ्चमा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो।

नेपथ्य ब्याण्ड र मानवसेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिकाअनुसार आज बुधवार सुर्खेतमा साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न थालिएको हो । मानवसेवा आश्रममा संरक्षितहरुको दीर्घकालिन मानवोचित व्यवस्थापन एवम् स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागि नेपथ्य लाइभ कन्सर्ट गर्न लागिएको कर्णाली मानवसेवा आश्रम प्रदेश संयोजक सजिता गौतमदे जानकारी दिईन्।

उक्त कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित नेपथ्य परिवारसँगको भेटमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले चाहनाका यावत् पहाड कालान्तरमा निरर्थक हुने भएकाले यही जुनीमा पुण्य कमाउन सबैलाई आग्रह गरे ।

‘समाज भनेकै हामी भएकाले यसैको सेवाका लागि आफूलाई तयार पारौँ’, उनी भन्छन् – ‘मानवता अक्षयकोष निर्माण गरेर सुन्दर भवन निर्माणका लागि सहयोग गरौँ ।’ सहयोगापेक्षी सडक मानवको सहयोगका निम्ति साङ्गीतिक कार्यक्रम गरिएको गायक गुरुङले बताए ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, सालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ।

नेपथ्य व्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन्। लाईभ कन्सर्ट भव्य र सफल बनाउन विभिन्न क्षेत्रका मानवताप्रेमी व्यक्तिहरु सम्मिलित मूल समिति र उप–समितिहरु निर्माण गरि व्यापक तयारी गरिएको छ।

कन्सर्टका लागि आश्रमका अभिभावक टिकाराम चपाईको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने विभिन्न विषयगत उपसमितिहरु निर्माण गरिएका छन्।

टिकट खरिद एक हजार रुपैयाँ तोकिएको छ। हाल आश्रमको संरक्षणमा ४२ पुरुष २९ महिला ४ बच्चा गरि जम्मा ७५ संख्यामा सहयोगापेक्षी व्यक्तिहरुले आश्रम लिएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array