सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन

होस्ट खबर ५ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथको कार्यक्रम तय गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुअघि शपथको कार्यक्रम राख्न सरकारले गरेको आग्रहअनुसार सचिवालयले पुस ७ गते छोटो समयमा शपथको मिति तय गरेको हो। सचिवालयले तीन दिनको समय दिएर सबै सदस्यलाई उपस्थितिका लागि सूचना दिएको हो।

यसअघि प्रधानमन्त्री नियुक्ति हुँदासम्म सदस्यका रूपमा शपथ नलिएको र संसदीय दलको नेतासमेत चयन नभएको भन्दै आलोचना भएको थियो। शपथ नलिई प्रधानमन्त्री नियुक्तिको दाबी पेस भएको यसअघिको अभ्यास यस पटक फेरिन लागेको हो। अघिल्लो पटक संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा एक दिनअघि मात्र शपथ भएको थियो।

नेपालको संविधानको धारा ८८ ले सङ्घीय संसद्का सदस्यले सदन वा समितिको बैठकमा भाग लिनुअघि पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ। निर्वाचनको अन्तिम परिणाम प्राप्त भई राष्ट्रपतिबाट सरकार गठनका लागि दाबी पेस गर्न आह्वान भएसँगै शपथको कार्यक्रम तय भएको हो। यस्तै सरकारको नेतृत्वको दौडमा रहेका दलहरूले संसदीय दलको नेता चयनको प्रक्रिया पनि सँगसँगै अघि बढाएका छन्।

नवनिर्वाचित सदस्यहरूले सदनको ज्येष्ठ सदस्यबाट शपथ लिनेछन्। सदस्यहरूलाई शपथ गराउनुअघि ज्येष्ठ सदस्यले भने राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ लिनेछन्। सभामुख चयन नहुँदासम्म बैठक सञ्चालन पनि ज्येष्ठ सदस्यबाटै हुनेछ। सचिवालयले शपथमा उपस्थित हुँदा निर्वाचन आयोगले दिएको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको तस्बिरसहित उपस्थित हुन सूचित गरेको छ।

यस्तै मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा अनुवाद गरी बुझाउन पनि सचिवालयले आग्रह गरेको छ। शपथको व्यहोरा सोमबारसम्म उपलब्ध गराउन सचिवालयले आग्रह गरेको छ। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्