श्रृङ्गारपटार गरिदैं कर्णाली प्रदेशसभा

होस्ट खबर १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै कर्णाली प्रदेशसभा श्रृङ्गारपटारको काम थालिएको छ । १० जिल्लाका २४ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट चुनिएर आएका ४० जना सांसदहरूको स्वागत र सम्मानका लागि प्रदेशसभा सचिवालयले काम थालेको हो ।

पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि रंगरोगन, सरसफाइ, बगैंचा गोडमेल तथा भौतिक व्यवस्थापन, डिजिटल डिस्प्ले मर्मत, द्रुतगतिको इन्टरनेट जडान, लगायतका कामहरू थालिएको प्रदेशसभा सचिव जीवराज बुढाकोथीले जानकारी दिए। उनका अनुसार पदाधिकारीको कार्यकक्ष साटफेरसमेत गरिएको छ।

विगत पाँच वर्षको अनुभव, सिकाइ र आवश्यकताका आधारमा पदाधिकारीहरूको कार्यकक्षलाई थप व्यवस्थित र आर्कषक बनाउन लागिएको सचिवालयले जनाएको छ। सचिवालयले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपाका लागि कार्यालय व्यवथापन गर्दैछ। राप्रपा र एकीकृत समाजवादीबाहेक दलका कार्यालय व्यवस्थापन भइसकेका छन्।

निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा नगरे पनि प्रदेशमा राप्रपा र एकीकृत समाजवादीका सांसदहरू थपिने निश्चित भने भइसकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली २०७९ अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरेको छ। प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले बैठक बोलाउनुपर्ने व्यवस्था रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्