यसपालि कांग्रेस उपसभाति खड्कालाई चुनाव जित्न कति सहज ?

होस्ट खबर ५ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभाति पूर्णबहादुर खड्का सुर्खेतबाट छैटौंपटक प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । खड्का २०४८ सालदेखि सुर्खेत क्षेत्र नं. १ बाट चुनाव लड्दै आएका हुन् । बिगतमा पाँच पटक संसदमा प्रतिनिधित्व गर्दै मन्त्रीसमेत बनेको अनुभव रहेको छ । उनले २०४८, २०५१, २०५६ र २०७० मा निर्वाचन जितेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा खड्का समानुपातिक सभासद् थिए ।

उपसभापति खड्का सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा खड्कालाई हराएका एमालेका ध्रुवकुमार शाही फेरि उनैसँग प्रतिस्पर्धामा उत्रिएका छन्। अघिल्लोपटक झण्डै ३ हजार मतान्तरले पराजित खड्का गठबन्धनको आडमा यसपटक शाहीसँग हारको बदला लिने दाउमा छन्। २०७४ मा माओवादीकै कारण चुनाव हारेका खड्का यसपालि उही माओवादीलाई साथमा लिएर चुनावी मैदानमा उत्रिएका छन्। साविक मालारानी गाविसका अध्यक्ष रहेका एमालेका शाही पनि बलियो जनाधार भएका नेता मानिन्छन्।

२०७४ मा पहिलोपटक खड्कालाई हराएर प्रतिनिधि सभामा ‘डेब्यु’ गरेका शाही फेरि जित हासिल गर्ने दाउमा छन्। गठबन्धनको बलमा चुनावमा होमिएका हेभिवेट नेता खड्का र शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। सुर्खेत–१ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका–१५ र वीरेन्द्रनगर–१६ को भूगोल समेटिएको छ।

स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत–१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। जसमा कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको थियो। वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार आठ सय ४३ मत पाएको छ।

माओवादीले पाँच हजार ७५ मत, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६ सय ३४ मत प्राप्त गरेको छ। यसरी हेर्दा कांग्रेससँगै माओवादीको मत जोड्दा खड्काका पक्षमा ४२ हजार ६ सय ३७ मत देखिन्छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्