एक राउटे बालक: सरकारले हाम्रा लागि किन योजना ल्याउँदैन ?

होस्ट खबर २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारले नेपालको लोपोन्मुख राउटे समुदायका लागि विभिन्न नीति तथा कार्यक्रम गराउदै आएको छ l लोपोन्मुख अवस्थामा रहेका राउटे जाति एकदम थोरै संख्यामा छन् l पछिल्ला बर्षमा  कर्णाली प्रदेश सरकारले अति लोपोन्मुख जाति राउटेलाई राज्यको मूलप्रवाहमा ल्याउन नीति तयार पारेको थियो । स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायत नीति छ।

बालबालिका संग मुख्यमन्त्री कार्यक्रममा एक राउटे समुदायका बालकले फोन मार्फत आफ्नो जिज्ञासा तथा प्रश्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग सोधेका थिए l दैलेखबाट फोनमार्फत जोडिएका राउटे बालक सुविन शाहीले ‘अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?,’ भन्दै ‘सरकारले हाम्रा लागि पनि किन योजना ल्याउँदैन ?’

जवाफमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरु विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईँहरु पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’

मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा विभिन्न कारणले पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले नीजि र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

मुख्यमन्त्री शाहीले नीजि विद्यालयले नीजिस्तरबाट विभिन्न सुविधासहित नाफामुलक ढंगले खोलिएका कारण सरकारले सामुदायिक भन्दा कम सुविधा दिने गरेका स्पष्ट पारेका हुन् । कक्षा ६ मा अध्ययनरत हिमांशु पुनले मुख्यमन्त्री शाहीलाई आफू मुख्यमन्त्री बन्नुभन्दा अगाडि देखेको सपना र पुरा भएका योजनाबारे पनि प्रश्न गरेका थिए ।

यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभर स्वास्थ्य सेवा उपलब्धता, बलात्कारलगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरुले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्युनिकरण हुन नसकेको स्वीकार गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array