अब पश्चिम सुर्खेतका जनताले ऋणमा शव पोस्टमोर्टम गर्न वीरेन्द्रनगर लैजानु पर्दैन: मन्त्री विसी

होस्ट खबर १९ भाद्र २०७९, आईतवार
3 Min Read
Aa

सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट, पलैटेमा पोष्टमोर्टम घर स्थापना भएको छ l कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सो भवनको उद्घाटन गरेका हुन् l

लामो समयदेखि पश्चिम सुर्खेतका जनता पोस्टमोर्टम गर्न ऋण गरि, शव बोकेर वीरेन्द्रनगर जानुपर्ने बाध्यता थियो l विकास र आधारभूत आवशेक्तामा पछि परेका पश्चिम सुर्खेतका जनता पोष्टमोर्टम भवनको उद्घाटन भएसँगै पश्चिम सुर्खेतका जनताको मुहारमा केही खुसी तथा आशा पालाएको छ l नागरिकहरूको केही घटनामा ज्यान गए, पोस्टमोर्टम गर्न वीरेन्द्रनगर नै पुग्नुपर्ने बाध्यता थियो। मृतकका आफन्तलाई त आफ्ना मान्छे गुमाउनुको पीडासँगै ऋण गरेर शव बोकेर वीरेन्द्रनगरसम्म पुगेर पोस्टमोर्टम गराउनुको अर्को पीडा थपिन्थ्यो।

पोस्टमोर्टम गर्न चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकाका नागरिकहरू पोस्टमोर्टम गर्न ऋण नै काढेर जान्थे। तर, अहिले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २५ लाखको लागतमा सालकोटमै पोष्टमोर्टम घरको स्थापना गरिदिएको छ। आवश्यक जनशिक्तको व्यवस्था गरिदिएको छ।

अब ऋण गरेर शव बोकेर वीरेन्द्रनगर जानुपर्ने बाध्यता हटेको पञ्चपुरी–२ सालकोटका युद्ध विकले बताए। ‘आत्महत्या, कुनै विपद्मा परी र कुनै शंकास्पद मृत्यु भए कानूनअनुसार त्यसको पोष्टमोर्टम गनुपर्ने रहेछ। त्यसका लागि वीरेन्द्रनगर जानुपर्ने, यसरी जाँदा ऋण सापटी गर्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘अहिले गाउँघरमै पोष्टमोर्टम हुनेभएपछि लास बोकेर वीरेन्द्रनगर जानुपर्ने झन्झट हटेको छ।’

विकका अनुसार पोष्टमोर्टमकै लागि गाडीमा शव बोकेर वीरेन्द्रनगर जाँदा पश्चिम सुर्खेतका ठाउँअनुसार २० देखि ३५ हजार रुपैयाँसम्म भाडा लाग्ने गर्छ।

पोष्टमोर्टम भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले पश्चिम क्षेत्रका नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै त्यहीँ पोष्टमोर्टम गर्नेगरी प्रदेश सरकारले पहल चालेको बताए।

‘विगतमा पोष्टमोर्टमकै लागि यहाँका नागरिकहरूले धेरै सास्ती भोग्नुपर्‍यो। कयौँ घटनाहरूमा हामी सबैले सरसापट गरेर पनि वीरेन्द्रनगर लगेर पोष्टमोर्टम गर्‍यौँ। तर, यो समस्या अब यहाँका नागरिकहरूले भोग्न नपरोस् भनेर यहीँ पोष्टमोर्टम गर्ने व्यवस्था मिलाएका हौँ,’ मन्त्री बुढाक्षेत्रीले भने।

मन्त्री बुढाक्षेत्रीले प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गर्न सामाजिक विकास मन्त्रालयले तीन करोड बजेट समेत विनियोजन गरेको जानकारी दिए।

उनले पश्चिम सुर्खेतको विकासका लागि आफू निरन्तर लागिपरेको र आगामी दिनमा पनि थप पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले प्राथमिक स्वास्थ्य केन्द्रमा अन्य कुराको बन्दोबस्त भए पनि थप दक्ष जनशक्तिको व्यवस्था गरिदिन मन्त्री बुढाक्षेत्रीलाई अनुरोध गरे।

उनले सहजै स्वास्थ्य सेवाको पहुँच बढाए पश्चिम क्षेत्रका नागरिकहरूको समस्या समाधान हुने बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array