मत्ताको उदण्डता दस गुणा दस

होस्ट खबर २७ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन्। यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ।

उदण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन्। त्यस्तै उदण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ। सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उदण्ड हात्तीलाई उदण्डता झल्काउने धुर्बे, रोनाल्डो, गोविन्देजस्ता नाम दिइएको छ। यस्तै नाम दिइएकामध्ये मकुना हात्तीले सबैभन्दा बढी कोसी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्यान लिएको छ। त्यसपछि चितवन क्षेत्रमा रोनाल्डोले २२ जनालाई मारेको छ।

धेरै चर्चामा आएको धुर्बे हात्तीले अघिल्ला दुईको भन्दा कम १८ जनाको ज्यान लिएको छ। रोनाल्डो र धुर्बेले अझै पनि चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेलाबेला उदण्डता मच्चाउने गरेका छन्। स्थानीयवासीलाई धेरै दुःख दिन थालेपछि हात्ती ओहोरदोहोर क्षेत्रमा स्थानीयवासीले करेन्ट छाड्दा मकुनाको करेन्टका कारण मृत्यु भइसकेको छ। चितवन, पर्सा क्षेत्रमा गोविन्दे नामक मत्ताले आठ जना र गणेश हात्तीले पर्सा क्षेत्रमा आठ जनाको ज्यान लिएको छ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बर्दिया दाह्रे नामक मत्ताले छ जनाको र कोसी क्षेत्रमा कोसी दाह्रेले तीन जनालाई मारेको छ। यसैगरी झापा, सप्तरी, कञ्चनपुरमा गरी विभिन्न मत्ताले छ जनाको ज्यान लिएको छ।

सामान्यतः मत्ता भनेको मात्तिएको भन्ने बुझिन्छ। बर्दियामा मात्र युवा मत्ताको सङ्ख्या धेरै छ। युवास्थासँगै धारिलो दाह्रा निस्कने मत्ताले ती दाह्राकै कारणले बढी क्षति गर्ने गरेको छ। हात्तीको बथानबाट छुट्टिएका भाले हात्ती उमेर बढेसँगै मत्ता हुने र क्षुद्र स्वभाव देखाउने गरेकोले नेपालमा हात्तीबाट जनधनको क्षति भएको विज्ञहरूले बताएका छन्।

हात्तीका बारेमा विद्यावारिधि डा अशोककुमार रामले मत्ता हात्तीका कारणले मात्रै धेरै जनधनको क्षति भएको छ। हुलका हुल बाँधेर हिँड्ने हात्तीले असुरक्षा महसुस नगरुञ्जेल मानिसमाथि आक्रमण र घर भत्काउनेसम्मको काम नगर्ने बताए। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array