उपल्लो डोल्पामा इलाका प्रशासन राख्ने तयारी

होस्ट खबर ३ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

डोल्पा : डोल्पाको उत्तरी चिनियाँ सीमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । भौगोलिक हिसाबमा जिल्लाकै विकट क्षेत्र मानिने उक्त क्षेत्रमा सरकारले इलाका प्रशासन कार्यालय तयारी गरेको हो ।

डोल्पो बुद्ध गाउँपालिका-१ मा कार्यालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् ।

प्रजिअ महतले भने, ‘उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय राख्ने विषयमा गृह मन्त्रालयबाट विवरण माग गरिएको थियो, माग भए बमोजिमका सबै विवरण भरेर पठाइसकेका छौं ।’ इलाका प्रशासन कार्यालय स्थापना भएपछि डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकहरू लाभान्वित हुने छन् ।

तत्कालीन अवस्थामा कार्यालय सञ्चालनका लागि भवन भने डोल्पो बुद्ध गाउँपालिकाले गराउने बताइएको छ ।

उपल्लो डोल्पाबाट सदरमुकाम झर्नै तीन चार दिन लाग्ने भएकाले नागरिकता, राहदानी, सिम पास लगायतका सरकारी सेवा सुविधा लिन ठूलो समस्या भोग्नु परेको ताक्सीका स्थानीयले गुनासो गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्