२७ लाख तिरेर सगरमाथा चड्दै कांग्रेस महामन्त्री शर्मा

होस्ट खबर २ जेष्ठ २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ : यसपालीको वसन्तकालीन हिमाल आरोहण सिजनका लागि कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मालाई पर्यटन विभागले सगरमाथा आरोहण अनुमती जारी गरेको छ । विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार, भृकुटीमण्डपमा रहेको पर्यटन विभागले नेता शर्मासहित दुई जनालाई सगरमाथा आरोहण अनुमति जारी गरेको हो ।

‘यसपटकको वसन्तकालीन सगरमाथा आरोहण सिजनका लागि नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मासहित दुई जनालाई आरोहण अनुमति जारी भएको छ,’ विभागका सूचना अधिकारीसमेत रहेका अवस्थीले कान्तिपुरसँग भने,‘काठमाडौंमा रहेको सेभेन समिट ट्रेक्स कम्पनीले लिएको अनुमतिमा फुर्वा शेर्पा टोली नेता छन् ।’ दुवै जनाकातर्फबाट जनही ७५ हजार रुपैयाँका दरमा १ लाख ७५ हजार रुपैयाँ सलामी दस्तुर बुझाइएको छ ।

नेता शर्मा भने यतिबेला सगरमाथा आधार शिविरमा छन् । उनी १० दिनअघि काठमाडौंबाट हिँडेका थिए । यी दुई सदस्यीय आरोहण दलका लागि सम्पर्क अधिकृतमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज गौतमलाई लियाजन अफिसर ९सर्म्पक अधिकृत० तोकिएको छ । नेता शर्मालाई सेभेन समिटले २७ लाख रुपैयाँ आरोहण शुल्क लिई सगरमाथा आरोहण गराउन लागेको जनाएको छ । ‘कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सेभेन समिटले २७ लाख रुपैयाँमा सगरमाथा आरोहण गराउन लागेको हो’, सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले कान्तिपुरसँग भने,‘उहाँले आधाउधी पैसा बुझाइसक्नु भयो । थोरै बाँकी छ ।’

यसैबीच बिहीबारसम्म सगरमाथामा ५५ जना आरोहीले सफलतापूर्वक आरोहण गरेको विभागले जनाएको छ । सगरमाथा आरोहणका क्रममा थप एक विदेशी आरोहीको निधन भएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार, फिलिपीनी नागरिक ४५ वर्षीय फिलिप सान्टियागोको बुधबार राति सगरमाथाको चौथो शिविरमा निधन भएको हो । उनी काठमाडौंको स्नोयी होराइजन ट्रेक्स प्रालिबाट सगरमाथा आरोहण गर्न गएका थिए ।

सगरमाथामा बुधबारसम्म ४६ वटा आरोहण दलका ४ महिला र ३ सय ७४ पुरुष गरी ४ सय ५ स्वदेशीरविदेशीलाई विभागले अनुमति जारी गरेको छ । यसपटक सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि बुधबारसम्म २ सय ४४ महिला र ८ सय ९६ पुरुष गरी ११ सय ४० जनाले अनुमति पाएका छन् । यस्मा नेपालसहित ७३ वटा देशका नागरिक छन् । सगरमाथा आरोहणमा मात्रै नेपालसहित ५७ वटा देशका नागरिक यतिबेला आधार शिविरमा छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्