४ मंसिरमा चुनाव गर्ने सहमति

होस्ट खबर १९ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले अगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भने गत २२ असारमा नै २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गठबन्धन आबद्ध दलबीच बनेको जानकारी दिए । ‘४ मंसिरमा निर्वाचन गर्ने सहमति भएको छ, अब मन्त्रिपरिषद् बैठकले मिति तोक्छ,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

बालुवाटार स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । निर्वाचन आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको छ ।

यसअघि संसद्को चालू अधिवेशन समापन गरेर मात्रै निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र अलमल देखिँदै आएको थियो । यस्तै, सरकारमा रिक्त रहेका अर्थ मन्त्रीका कारण पनि निर्वाचनको मिति घोषणामा अलमल भएको थियो ।

आयोगले देशभर एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नेगरी रणनीति बनाउँदै आएको छ । आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array