चुनावमा अन्तर्घात भएको एमाले निष्कर्ष, कारवाही घनश्याम भूसाललाई !

होस्ट खबर २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो । पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बतउँछन् ।

‘हामी त कारवाही गर्ने निकाय होइनौं । आवश्यक अनुसन्धान गरेर सिफारिस गर्ने हो, त्यो गरेका छौं’, बडाल भन्छन् । स्थानीय चुनावको नतिजाबारे भूसालले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए ।

गत मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको भूसालको निचोड थियो । अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो ।

यही अन्तर्वार्तालाई लिएर भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । ‘पार्टीको विरुद्धमा बोल्न मन लाग्यो भने पार्टी सदस्यताबाट राजीनामा दिनुपर्छ । पार्टी सदस्य भएपछि बाटोमा बसेर मनपरी बोल्न पाइदैन’, अध्यक्ष बडाल भन्छन् । भूसाललाई कारवाही प्रक्रिया बढाइएपछि एमाले पंक्तिमा भने ठूलै हलचल देखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array