कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

होस्ट खबर २१ जेष्ठ २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं – कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले निर्यात गर्ने विजुली दैनिक १७७.७ मेगावाट पुग्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ ।

नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी बढी भएको विजुली भारत निर्यात गर्न थालिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिदेखि निर्यात हुने विजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए ।

‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ ।

त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विजुलीको अधिकतम मूल्य भारु १२ (१९.२ नेरु) र न्युनतम २.४९ (३.९८ नेरु) छ ।

त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) थियो । यसैगरी, शनिबार प्रधिकरणले अधिकतकम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विजुली बिक्री गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array