प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

होस्ट खबर
होस्ट खबर २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

शनिबार दिउँसो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।

दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित भएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए।

झाले भने, ‘अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको। त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो। तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै।’

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ। बिजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने झाले बताए। देश सञ्चार

प्रतिक्रिया दिनुहोस्