जलजला गाउँपालिका ३ मल्लाजमा सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न

होस्ट खबर २५ बैशाख २०७९, आईतवार
2 Min Read
Aa

पर्वत । पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा सत्ता गठबन्धनको आयोजनामा चुनावी सभा सम्पन्न भएको छ । सभामा जलजला गाउँपालिकामा स्थानीय तहको निर्वाचनका उम्मेदवारहरु सहित काँग्रेस, माओबादी, नेकपा एकिकृत समाबादीका नेताहरुले सम्बोधन गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान, गणतन्त्र र सार्वभौमसत्ता भत्काएर फेरि जनता संग मत माग्ने नैतिकता गुमाएको बताउनुभयो । उहाँले निरकुंशतालाई जरै देखि उखेलेर फाल्नका लागि गठबन्धनका उम्मेदवारहरुले स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभयो । चुनावमा देश विकास गर्ने र जनतालाई सेवा गर्ने नक्कली कुरा गरेर एमालेका उम्मेदवार घरदैलोमा आएपनि उनीहरु निर्वाचन जितेपछि निरकुंश बन्ने भएकाले मतदाताले बेलैमा सचेत हुनुपर्ने जोशीले बताउनुभयो । देशभर एमाले स्थानीय तहको निर्वाचनमा पराजित हुने पनि जोशीले बताउनुभयो । देश निर्माणको संकल्प गरेर गठबन्धनले सरकारको नेतृत्व गरेको र यो निर्वाचन गठबन्धनको भाग्य र भविष्य संग पनि जोडिएको जोशीले बताउनुभयो ।

 

संविधानसभाका सदस्य गुणाखर बस्यालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनलाई जिताएर पठाउन जलजलावासीहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुकको समृद्धि र विकास एमाले बाट संभव नभएपछि पाँच दलीय गठबन्धन बनाएर साझा सरकार चलाएको स्पष्ट पार्नुभयो । लोकतन्त्र जब जब खतरामा पर्न जान्छ तब बामपन्थी र लोकतन्त्रबादीहरुले काँध थाप्नु परेको बिगत स्मरण गर्दै अहिले पनि देशको रक्षाका लागि गठबन्धन बनेकोले स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विश्वास गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा तरुण दलका केन्द्रिय अध्यक्ष, विद्धान गुरुङले स्थानीय सरकार लाई दिगो बनाउन र जनमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकार पारदर्शी हुनुपर्ने, जनजिविकाका विषयमा जनप्रतिनिधी जिम्मेवार हुनुपर्ने र आन्तरिक स्रोतको व्यवस्थापनमा ध्यान दिनुपर्ने गुरुङले बताउनुभयो । उहाँले स्थानीय तहमा उठेका गठबन्धनका उम्मेदवार सक्षम, ईमान्दार र क्रियाशिल रहेकोले पर्वतका सातै स्थानीय तह र सबै वडामा जित हासिल गर्ने विश्वास व्यत्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सदस्य तथा जलजलाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल, नेता भवानी शंकर पौडेल, जलजला गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजुप्रसाद आचार्य , उपाध्यक्षका उम्मेदवार दीपक आचार्य, नेकपा माओबादीका नेता बाबुराम कार्की, काँग्रेस नेता रवि भण्डारी लगायतले बोल्नुभएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्