बुस्टर खोप लगाउन आग्रह

होस्ट खबर १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकालाई छिटो खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन्।

त्यसैगरी मन्त्रालयले इसाई धर्मावलम्बीको चाड क्रिसमस र इस्वी संवत्को नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भीडभाड नगर्न तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैसँग आग्रह गरेको छ । छिमेकी मुलुकमा देखिएको नयाँ भेरियन्ट बीएफ–७ भाइरस अहिलेसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सिमाना र मानिसको आवतजावतका कारणले नेपालमा फैलन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवालाको समन्वयमा सार्वजनिक यातायात र भीडभाड हुने स्थानमा मास्क तथा सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम राख्ने, व्यक्तिगत सरसफाइलगायत स्वास्थ्यसम्बन्धी आवश्यक नियम पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी सो विज्ञप्तिमा मुलुकमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि छिमेकी राष्ट्रहरूमा सङ्क्रमणका नयाँ स्वरूप (भेरियन्ट) देखापरेको र सोको जोखिम र असर नेपालमा पनि पर्न सक्ने भएकाले सजग हुन आवश्यक रहेको उल्लेख छ । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array