दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

होस्ट खबर २० मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज मध्यरातमा भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।

खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो ।

यसैअघि हिजो राती भएको खेलमा जापानलाई हराउँदै क्रोएसिया पनि क्वाटरफाइनलमा पुगेको छ । कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्‍वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए ।

जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो ।

क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । क्रोएसियाले अब क्‍वाटरफाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

अब आजसम्मको समीकरणमा छ वटा टिमहरुले क्‍वाटर फाइनलको यात्रा तय गरिसकेका छन् । बाँकी दुई टिमको भने आज खेलिने दुई खेलबाट टुङ्गो लाग्नेछ । क्‍वाटरफाइनलमा नेदरल्याण्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ भने इङ्ल्याण्डले फ्रान्सको सामना गर्ने पक्का भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array