विश्वकप फुटबल प्रतियोगिता: इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

होस्ट खबर १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन्। इङ्ग्ल्यान्डले वेल्सलाई ३-० गोलअन्तरले हरायो।

इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे। खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २-० को अवस्थामा पुर्‍याए। खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३-० को सहज जित दिलाए।

जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ। वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १-० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए। जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ। इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्