आजदेखि कतार ‘विश्वकप फुटबल’ सुरू

होस्ट खबर ४ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं : चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।

कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । मध्यपूर्वी तथा अरब देशमा आयोजना भएको यो पहिलो विश्वकप हो ।

सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएपछि अरब देशका लागि कतार विश्वकपको आयोजना सबैभन्दा ठूलो उपलब्धि हो । यसैगरी एसियामा हुने यो दोस्रो विश्वकप हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।

यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ । अब यी दुई खेलाडीलाई विश्वकपको मैदानमा पुनः नदेखिने प्रायः पक्का छ । रोनाल्डो र मेसी मात्र होइन, रोबर्ट लेवान्डोस्की, लुइस सुवारेज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि अन्तिम विश्वकपका रूपमा हेरिँदै छ ।

त्यसो त विश्वकप फुटबलजस्तो ठूलो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array