नेपाल र केन्याबीचको टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट हुँदै

होस्ट खबर ९ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो ।

नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने ४ बजे केन्याको राजधानी नैरोबीस्थित जिमखाना मैदानमा हुनेछ ।

यसैबीच, समयमै भिसा नआउँदा नेपालका कम्तिमा तीन खेलाडीले बिहीबारको पहिलो खेल गुमाउने भएका छन् । अलराउण्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र सहाब आलमले पहिलो खेल गुमाउने पक्का भएको हो ।

उनीहरु बिहीबार मात्रै केन्यातर्फ प्रस्थान गर्दैछन् । उनीहरुले श्रृंखलाको दोस्रो खेल पनि गुमाउने सम्भावना उच्च छ ।

बुधबार मात्रै उडेका अन्य दुई खेलाडी सोमपाल कामी र विवेद यादवले पनि बिहीबारको खेल खेल्ने वा नखेल्नेबारे यकिन भईसकेको छैन ।खेलाडीहरुले समयमै ‘एल्लो फिभर’ को खोप लगाएको कागजात नबुझाउँदा भिसा आउन समय लागेको हो ।

कप्तान सन्दिप लामिछानेको नेतृत्वमा ११ खेलाडी, प्रशिक्षक मनोज प्रभाकर, फिजियो बिक्रम न्यौपाने र प्राविधिक विष्लेशक रमन शिवाकोटी गत मंगलबार केन्या उडेका थिए । आईसीसीका विभिन्न प्रतियोगितामा नेपाल र केन्याले पटक पटक खेलेका छन् । तर, टी–ट्वान्टी अन्तराष्ट्रियमा भने नेपाल र केन्याले पहिलो पटक खेल्न लागेका हुन् ।

यसअघि टी–ट्वान्टीको मान्यता रहेको दुई खेलमा नेपाल र केन्याले प्रतिस्पर्धा गरिसकेका छन् । दुई खेलमै नेपालले जित हात पारेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array