कर्णालीमा कोरोनाको चौथो लहर सुरु, अवस्था डरलाग्दो: डा. रविन खड्का

होस्ट खबर २३ श्रावण २०७९, सोमबार
3 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको छ । करिब तीन महिना कोरोना संक्रमितको संख्या शुन्य रहेको कर्णालीमा पछिल्लो चार हप्तामा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । गत असार २१ गते एक जनामा मात्रै कोरोना संक्रमण देखिएकोमा एक महिनाभित्र (साउन २१ गतेसम्म) कूल संक्रमितको सख्ंया १ सय ४३ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शनीबार मात्रै आठ जनामा गरिएको आरटी–पीसीआर परिक्षणमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ । जुन तथ्यांकले कर्णालीमा कोरोना संक्रमणको चौथो लहर सुरु भएको देखाउने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । ‘परिक्षण गराएकामध्ये ५० प्रतिशतमा कोरोना संक्रमण देखिनु भनेको डरलाग्दो अवस्था हो,’ उनले भने, ‘हामी कोही व्यक्तिको मृत्यु नभएसम्म डराउँदैनौ तर अहिलेको अवस्था पनि डरलाग्दो अवस्था हो ।’

आइतबार पत्रकारसँग अन्तरक्रिया गर्दै उनले फेरि पनि समुदायस्तरमा कोरोना फैलिसकेको उल्लेख गरे । ‘अहिले सामान्य लक्षण देखिएको व्यक्तिहरु कोही पनि परिक्षण गराउन आउँदैनन्,’ उनले भने, ‘स्वास्थ्यकर्मी तथा कर्मचारी, विदेश जानेवाला मात्रै परिक्षण गराउन आएका छन्, अहिले कोही पनि परिक्षण गराउन नआउनु ठूलो चुनौति हो ।’

हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट ३ सय ९१ जनाको मृत्यु भएको छ । गत वर्ष फागुन १८ यता कर्णालीमा कोरोना संक्रमित एक जनाको पनि मृत्यु भएको छ । कर्णालीमा हालसम्म १ लाख ३० हजार दुई सय ९४ पीसीआर परिक्षण गर्दा २३ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार ६७ हजार ४४ एन्टिजेन परिक्षण गर्दा १५ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये ३७ हजार ६७ जना निको भएका छन् ।

कोरोना संक्रमण ह्वात्तै बढेमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दरबन्दी अनुसार पर्याप्त दक्ष तथा तालिमप्राप्त जनशक्तीको अभाव हुने जनाएको छ । प्रदेशभर कुल ८ सय ८८ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी रहेकोमा ३ सय २५ मात्रै पुर्ति भएको छ । ५ सय ६७ जनाको स्थायी दरबन्दी रिक्त छ । हाल कर्णालीमा दरबन्दी करारामा २ सय ५५ र अन्य करारमा ५ सय ४२ कर्मचारी कार्यरत छन् ।
निर्देशनालयका निर्देशक डा. खड्काले डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए । उनले नर्सिङ तथा प्यारामेडिक्स पदपुर्ति तथा थप जनशक्तीको आवश्यकता परेको जनाए । डा. खड्काका अनुसार सरकारले कोभिड करारका कर्मचारीका लागि बजेट पनि विनियोजन नगरेको बताए । ‘कुनै पनि सरकारले यसका लागि बजेट छुट्याएको छैन,’ उनले भने, ‘कोरोना बढेको खण्डमा हामीले कर्मचारी थप गर्नैपर्ने हुन्छ, त्यसका लागि बजेट आवश्यक पर्छ ।’

निर्देशक डा. खड्काले एम्बुलेन्स तथा शववाहनको पर्याप्त व्यवस्था हुन नसक्नु, नियमित विधुतको आपुर्ति र उर्जाको समेत भरपर्दो व्यवस्था नहुनु, दक्ष जनशक्तिको अभावमा अधिकांश जिल्लामा आईसीयु र एचडीयु भेन्टीलेटर संचालन हुन नसक्दा कोभिड नियन्त्रणमा चुनौति देखा पर्ने बताए । उनले जुम्लामा कोल्ड चेन रुमको स्थापना गर्नुपर्ने, छिन्चु, कपुरकोट र कुईनेमा होल्डिङ स्क्रिनिङ सेन्टर सञ्चालनमा आएकोमा व्यवस्थित ढंगले सञ्चालन नभएकाले यसतर्फ स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array