आइपिएलमा आरसिबीको छैटौँ जित, राजस्थानको लगातार पाँचौं हार

होस्ट खबर १२ बैशाख २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ : रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसिबी० ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा छैटौँ जित निकालेको छ । छैटौँ जित निकाल्नेक्रममा आरसिबीले बिहीबार राति राजस्थान रोयल्स (आरआर) लाई ११ रनले हरायो ।

राजस्थानले भने लगातार पाँचौं हार बेहोरेको छ । आफ्नो नवौँ खेलमा आरसिबीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको आरआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।

उसका लागि यशस्वी जैसवालले ४९, ध्रुव जुरेलले ४७, नितिश रानाले २८, कप्तान रियान परागले २२, वैभव सूर्यवंशीले १६, शुभम दुवेले १२ तथा शिमरोन हेटमायरले ११ रन जोडे ।

आरसिबीका लागि जोश हेजलउडले ४ ओभरमा ३३ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, कृणाल पाण्ड्याले दुई तथा भुवनेश्वर कुमार र यश दयालले एकरएक विकेट हात पारे ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनायो ।

उसका लागि पूर्वकप्तान विराट कोहली र देवदत्त पाडिक्कलले अर्धशतकीय पारी खेले । विराटले ४२ बलमा आठ चौका र दुई छक्कासहित ७० तथा पाडिक्कलले २७ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५० रनको पारी खेलेका हुन् । जारी सिजनमा उनीहरूको यो लगातार दोस्रो अर्धशतकीय पारी हो ।

यस्तै, राजस्थानविरुद्ध फिल साल्टले २६ र टिम डेविडले २३ रन जोडे । जितेश शर्मा १९ रनमा अविजित रहे । राजस्थानका लागि सन्दीप शर्माले दुई तथा जोफ्रा आर्चर र वानिन्दु हसरंगाले एकरएक विकेट लिए ।

यो जितपछि आरसिबी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ । यस्तै, आरआरले ९ म्याच खेल्दा सातमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ । ऊ तालिकाको आठौँ स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्