सुर्खेत : नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै श्री एअरलाईन्सले काठमाडौं – सुर्खेत – काठमाडौँ उडान आजदेखी सुरु गर्न लागेको छ । उक्त एअरलाईन्सले गत बिहीबार सुर्खेत उडानको स्वीकृति पाएको थियोे ।

कलसाइन क्यू४००–८ रहेको ८० सिटे जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । ८० सिटे जहाज भएतापनि ७८ सिट क्षमता मात्र रहनेछ । उक्त जहाजका लागि सुर्खेत विमानस्थलमा भने फुल क्यापेसिटी छैन । मानन्धरका अनुसार रनवे अलि सानो भएकाले समस्या चाहिँ छ ।
श्री एयरले बिहान ७ः१५ बजे काठमाडौंबाट सुर्खेत उडान गर्नेछ । माग बढेपछि उडान संख्या पनि बढाउने मानन्धरले बताए । हाल उक्त क्षेत्रमा बुद्ध एयरले दैनिक दुई उडान गर्दै आएको छ ।
आजबाट दुई एअरलाईन्सको प्रतिस्पर्धा हुने भएपछी बुद्ध एयरले पनि भाडा घटाएको हो। यसअघि बुद्धको जहाजले मात्र काठमाडौं सुर्खेतको उडान भर्ने भएको कारण टिकट दर निकै महँगो मानिँदै आएको थियो। आजबाट सुर्खेत काडमाण्डौँको भाडा श्री एअरलाईन्सको ६ हजार सात सय छ भने वुद्ध एअरले ६ हजार छ सय कायम भएको छ ।
बुद्ध एअरले एक घण्टा १० मिनेट समयमा काठमाडौं सुर्खेत ७२ सिटे जहाजबाट उडान गर्दै आएपनि श्री एअरले भने बढीमा ४० मिनेटमा ८० सिटे जहाजबाट काठमाडौं सुर्खेत उडान भर्ने छ । दुई एअरलाईन्सको प्रतिस्पर्धा भएसगै भाडा अझै घट्ने अपेक्षा कर्णाली बासीको छ ।












प्रतिक्रिया दिनुहोस्