भेरी करिडोरले कहिले पाउला पूर्णता ?

होस्ट खबर १९ असार २०८२, शुक्रबार
5 Min Read
Aa

डोल्पा : भेरी करिडोर बाँके जिल्लाको जमुनाहबाट सुरु भई सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डोल्पाको दुनै, धो तिन्जे हुँदै चीनको स्वशासित क्षेत्र तीब्बतको सिमानामा पुगेर टुंगिन्छ। यस सडकले चीन, नेपाल र भारत जोड्ने भएकाले व्यापारिक हिसाबमा पनि महत्वपूर्ण मानिन्छ।

२०७५ साल मंसिर ४ गते त्रिपुराकोटसम्म ट्रयाक खुलाएर भव्यताका साथ उद्घाटन गरिए पनि भेरी करिडोरले अझैसम्म पूर्णता पाउन सकेको छैन। सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्ला नाकासम्म भेरी करिडोरअन्तर्गत नै पर्छ। भेरी करिडोर कार्यालय जाजरकोटका अनुसार छिन्चु मोरिम्लासम्मको सडकको कुल लम्बाइ ३ सय १७ किलोमिटर छ। जसमध्ये छिन्चुदेखि जाजरकोटसम्म १ सय ७ किलोमिटर सडक कालोपत्रे छ।

जाजरकोटको खलंगा बजारदेखि रिम्न हुँदै रुकुम पश्चिमको चिसापानीसम्मको सडकखण्ड पनि कालोपत्रे भइसकेको छ। खलंगा बजारदेखि रिम्नासम्म १६ किलोमिटर सडक यस अघिनै कालोपत्रे भएको हो। रिम्नादेखि चिसापानीसम्मको सडक केही महिना अघिमात्र कालोपत्रेको काम सकिएको छ। चिसापानीदेखि तल्नुबगरसम्मको ३० किलोमिटर सडक कालोपत्रेको चरणमा छ।

भेरी करिडोर कार्यालय जाजरकोटको ९७ करोड बजेटमा रिम्ना–तल्नुबगरसम्मको ४० किलोमीटर सडकको कालोपत्रेको काम भइरहेको भेरी करिडोर कार्यालयका प्रमुख सुनील रञ्जिकारले बताए। साढे दुई वर्षअघि खुलेको ठेक्कामा निर्माणको जिम्मा श्रेष्ठ कन्सट्रक्सन कम्पनी हेटौंडाले पाएको र अब चालु आर्थिक वर्षभित्रै तल्नुबगरसम्म कालोपत्रेको काम सम्पन्न गर्ने गरी काम भइरहेको रञ्जितकारको भनाइ छ।

भेरी करिडोरअन्तर्गत पर्ने तल्नुबगरदेखि दुनैसम्मको ६१ किलोमिटर सडकको अवस्था चिन्ताजनक छ। ०७५ सालमै ट्रयाक खुलाइएको यस सडकमा अहिलेसम्म पनि स्तरोन्नतिको काम हुन सकेको छैन। अहिले तल्नुबगरदेखि दुनैसम्मको सडक साँघुरो त छँदै छ। बीच–बीचमा खसेका ढुंगामाटो र ससाना पहिरोले सडकको अवस्था बिग्रँदै गएपछि सेनाले अहोरात्र खटेर निर्माण गरेको ट्रयाकसमेत साँघुरिन थालेको छ।

नेपाली सेनाले करिब ११ वर्ष लगाएर दुनैसम्मको ट्रयाक खुलाएको थियो। सडक निर्माण गरेर सेना फर्केसँगै भेरी करिडोर अन्तर्गतको तल्नु–दुनै खण्ड चौडा गर्ने, कालोपत्रे गर्ने लगायतको स्तरोन्नतिको काममा राज्यको ध्यान पुग्न सकेको छैन। त्यति बेला तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले सडक उद्घाटन गर्दै सरकारले अबको दुई तीन वर्षभित्रै मोरिम्लासम्मको सडक निर्माण गरेर कालोपत्रे गरिने आश्वासनसमेत दिएका थिए। तर, ट्रयाक खुलेको एक दशक बित्न लाग्दासमेत सडकको अवस्था ज्युँँका त्युँ छ। त्यस यता बनेका सरकारहरूले ल्याएका महत्वकांक्षी बजेटहरूमा समेत उत्तर दक्षिण लोकमार्गका रूपमा चिनिने भेरी करिडोर समेटिन सकेन।

संघीय आयोजनामा प्रदेशले लगानी गर्न नमिल्ने कानुन

भेरी करिडोरको बाँकी खण्ड स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले भने लगानी गरेको छैन। संघीय आयोजनामा लगानी गर्न नमिल्ने कानुनी व्यवस्थानै भएकाले पनि प्रदेश सरकारले उक्त आयोजनामा लगानी गर्न नसकेको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढाले बताए।

संघीय सरकारबाट बजेट व्यवस्थापनका लागि जिल्लावासीको हिसाबमा आवश्यक समन्वय, सहकार्य गरिरहेको मन्त्री बुढाको भनाइ छ। ठूलीभेरी नदीको खोचैखोच भएर डोल्पा सदरमुकाम दुनै पुग्ने भेरी करिडोरको स्तरउन्नतिका लागि राज्यले बेवास्ता गरेका डोल्पाका स्थानीयको गुनासो छ।

भेरी करिडोरले छोएर अघि बड्ने सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम र डोल्पाका जिल्लागत नेतृत्वको प्राथमिकतामा समेत नपर्दा भेरी करिडोरले पूर्णता पाउन नसकेको उनीहरूको भनाइ छ। जाजरकोटको पासागार्डदेखि दुनैसम्मको खण्डको कुल लम्बाइ करिब १ सय १८ किलोमिटर छ।

जोखिमपूर्ण यात्रा, मनलाग्दी भाडा
भेरी करिडोरको दुनै तल्नुबगर खण्ड स्तरोन्नति नहुँदा सर्वसाधारणहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सडकको अवस्था राम्रो नहुँदा नहुँदै पनि दुर्गम क्षेत्रका मान्छे औषधिउपचार, पढाइलेखाइ गर्न सुर्खेत, काठमाडौं, नेपालगञ्जलगायतका सहरी क्षेत्रमा पुग्नुपर्ने भएकाले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।

त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय दुर्गाप्रसाद देबकोटाले भेरी करिडोरअन्तर्गतको दुनै तल्नुबगर खण्ड कच्ची भएको भन्दै यातायात व्यवसायीले सर्वसाधारणबाट मनलाग्दी भाडा उठाइरहेको बताए। यस बीचमा सिट क्षमताभन्दा दुई तीन गुणा मान्छे राख्ने, थोत्रा गाडीहरू चलाउने समेत गरिएको उनको गुनासो छ।

यस खण्डमा स्थानीय प्रहरी प्रशासनको पनि बलियो उपस्थिति नहुनुले सोझासाझा सर्वसाधारणहरू यातायात व्यवसायीबाटै ठगिने र हेपिने गरेका छन्। कच्ची सडक छ भन्दै यातायात व्यवसायीले लागेको भाडाभन्दा धेरै भाडा उठाउने फोक्सुन्डो घुम्न आउने यात्रुहरूको गुनासो छ। राज्यले भेरी करिडोरको कालोपत्रे गरिदिएमा यातायात व्यवसायीको सिन्डिकेट तोडिने र जनता मर्कामा नपर्ने उनीहरूको भनाइ छ।

भेरी करिडोर कार्यालय जाजरकोटको ९७ करोड बजेटमा रिम्ना–तल्नुबगरसम्मको ४० किलोमिटर सडकको कालोपत्रेको काम भइरहेको छ। साढे दुई वर्षअघि खुलेको ठेक्कामा निर्माणको जिम्मा श्रेष्ठ कन्सट्रक्सन कम्पनि हेटौंडाले पाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्