वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट: उपमहानगर बनाउने देखि नगरबस संचालनमा ल्याउने (भिडियो सहित )

होस्ट खबर ९ असार २०८२, मंगलवार
4 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उपमहानगर बनाउने दृढता व्यक्त गरे ।

नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउनको आगामी वर्ष नगर बस खरिद गरि संचालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको खनालले जानकारी दिए । उनकाअनुसार विकास साझेदार तथा गैर सरकारी संघ संस्थातर्फवाट पेश भएको ४० करोडको आयोजना तथा कार्यक्रम समेत स्वीकृतिका लागि प्रस्ताव नगर सभामा पेश गरिएको छ ।

‘प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तीन करोड ३४ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान ३७ करोड ६१ लाख ३६ हजार रहेको छ ।’ उनले भने,‘घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन १५ करोड, दहत्तर वहत्तर शुल्क दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख ५० हजार, आर्थिक बर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड आयको अनुमान गरेका छौं ।’

यसका अलावा विकास साझेदार तथा गैर सरकारी संघ संस्थातर्फबाट पेश भएको ४० करोडको आयोजना तथा कार्यक्रम समेत स्वीकृतिका लागि प्रस्ताव गरेको खनालले जानकारी दिए ।

आर्थिक बर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि स्रोत व्यवस्थापनको विनियोजन प्रस्तुत गर्ने तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि ११ करोड ६० लाख र वडास्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख बजेट विनियोजन गरिएको खनालले बताए ।

उप–प्रमुखका अनुसार नगरको बढ्दो शहरीकरणलाई अवसरका रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । प्रस्तुत बजेटमा पूँजीगत खर्च २ अर्ब ७८ करोड ८४ लाख र चालू खर्च १ अर्ब ५९ करोड ४२ लाख रहेको छ । नगरपालिकाले कर सुधार र आन्तरिक स्रोत विस्तार गरी कुल ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने लक्ष्य लिएको छ । विभिन्न किसिमका कर संकलनलाई प्रभावकारी बनाउन वडास्तरमै सहकार्य गर्ने नीति लिइएको छ ।

प्रमुख कार्यक्रम र बजेट

  • भेरी पम्पिङ्ग आयोजनाका लागि ११ करोड ६० लाख म्याचिङ फण्ड व्यवस्था
  • शहरी सौन्दर्य तथा पूर्वाधार विकासका लागि २२ करोड ३४ लाख
  • नगर गौरव आयोजना अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५० लाख बजेट
  • शिक्षा क्षेत्रमा ५ करोड ५९ लाख, स्वास्थ्यमा १ करोड ५९ लाख र
  • महिला बालबालिका अस्पतालका लागि ३७ लाख ५० हजार विनियोजन
  • कृषि तथा पशुपालन आत्मनिर्भरतातर्फ १ करोड ३० लाख बजेट
  • फोहरमैला व्यवस्थापन र हरियाली प्रवर्धनमा ४ करोड ५० लाखको व्यवस्था
  • नगर बस खरिद गरि संचालनका लागि २ करोड रुपैयाँ विनियोजन
  • युवा सशक्तिकरण कार्यक्रमका लागि ६० लाख, खेलकुद क्षेत्रका लागि ६१ लाख २५ हजार विनियोजन

बजेट खर्चका लागि स्रोत व्यवस्थापन

  • संघीय सरकारबाट सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख
  • वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख प्रदेश सरकारको अनुदान ४० करोड ९५ लाख (सशर्त र समानीकरण सहित)
  • सामाजिक सुरक्षा अनुदान ४० करोड
  • गत वर्षको मौज्दात ४१ करोड २७ लाख

प्राथमिकता

शिक्षा, स्वास्थ्य, युवा विकास, महिला सहभागिता, वातावरण संरक्षण, पूर्वाधार विस्तार, डिजिटल सुशासन, विपद् जोखिम न्यूनीकरण र सामाजिक समावेशिता बजेटका मूल आधार रहेका छन् । विगतका योजना र उपलब्धिलाई संस्थागत गर्दै अबको कार्यान्वयनमा सबैको सक्रिय सहभागिताको अपेक्षा नगरपालिकाले गरेको छ । यस्तै बजेटसँगै गैरसरकारी संस्था तथा विकास साझेदारमार्फत ४० करोड रुपैयाँ बराबरको कार्यक्रम पनि स्वीकृतिका लागि प्रस्ताव गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्