कर्णालीमा वित्तीय साक्षरता कमजोर

होस्ट खबर ५ असार २०८२, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशमा वित्तीय साक्षरता कमजोर रहेको पाइएको छ । कर्णाली फाउन्डेसनले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय वित्तीय साक्षरता र वित्तीय समावेशीकरण विषय कार्यशालामा बैङ्कमा खाता खोल्नेदेखि बचत गर्ने, मोबाइल बैङ्किङ गर्नेलगायतका सेवा सुविधा लिन कर्णालीवासी निकै पछि रहेको जानकारी दिइएको हो ।

कर्णालीमा ‘क’ वर्गका बैङ्कसहित ५०७ वटा वित्तीय संस्था छन् । बैङ्कर्स एसोसिएसन कर्णाली प्रदेशका उपाध्यक्ष दिवाकर जोशीले सात प्रदेशमध्ये बैङ्कमा खाता खोल्नेमा कर्णाली छैटौँ स्थानमा रहेको बताउए । कर्णालीमा एटिएम कार्ड प्रयोग गर्नेको सङ्ख्या तीन लाख ३७ हजार रहेको छ, जसमध्ये सक्रिय दुई लाख ४० हजार छन् । क्रेडिट कार्ड प्रयोग गर्नेको सङ्ख्या केवल चार हजार मात्रै छ ।

त्यसैगरी कोभिडपछि कर्णालीमा मोबाइल बैङ्किङको कारोबार पनि बढेको छ । मोबाइल बैङ्किङ गर्नेको सङ्ख्या आठ लाख ७० हजार रहेकामा पाँच लाख ६२ हजार सक्रिय रहेको एसोसिएसनका कर्णाली प्रदेशका उपाध्यक्ष जोशीले बताएका हुन्। त्यस्तै इन्टरनेट बैङ्किङ गर्ने २४ हजारमध्ये १८ हजार सक्रिय छन् भने डलर कार्ड प्रयोग गर्ने ७२३ छन् ।

कर्णालीका १० जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतमा बढी कारोबार हुने गरेको छ भने मुगु, डोल्पा, हुम्लामा कारोबार कम हुने गरेको पाइएको छ । खाता खोल्नेमा सुर्खेतमा सबैभन्दा धेरै र सबैभन्दा कम रुकुम पश्चिममा छन् ।

उनले गत वर्ष कर्णालीमा ३५ अर्ब रुपियाँ बचत भएको र यस वर्ष सात अर्ब बढेर ४२ अर्ब पुगेको उनले बताए । पुँजी बचत भएपछि लगानी गर्ने अवसर पनि खुलेको छ ।

कर्णालीमा ६१ अर्ब कर्जा लगानी भएको छ । कृषि, शैक्षिक, आवासलगायतका क्षेत्रमा कर्जा लगानी भएको छ । बचत गर्ने र कर्जा लगानीमा पनि प्रदेश राजधानी सुर्खेतमै बढी रहेको उपाध्यक्ष जोशीले बताए ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले उद्योगपतिले बैङ्क खोल्ने र मिलेमतोमा कर्जा सबै आफूले लिएर ग्रामीण तहका बासिन्दाले कर्जा पाउन नसक्ने अवस्था रहेको जानकारी दिएका हुन्।

उनले एउटै व्यक्तिले उद्योग र बैङ्क खोल्न नहुने सुझाव पनि दिए । कर्णाली फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद भट्टराईले कर्णालीमा अझै पनि वित्तीय साक्षरताको आवश्यकता रहेको बताएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्