सुर्खेत : विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले स्थलगत अनुगमन गरेका छन् । उत्तरतर्फ रहेको धावनमार्गको जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि विमानस्थलबाट उडान बन्द गरिएको छ। दुई दिन हवाई सेवा बन्द गरेर निर्माण सुरु गरिएको हो । धावनमार्ग (रनवे) मा परेको खाल्डो र मर्मत कार्यको स्थलगत अनुगमन मुख्यमन्त्री कंडेलले गरेका हुन् ।

मुख्यमन्त्री कंडेलले आफ्नो फेसबुक स्ट्याटस मार्फत सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) को मर्मत कार्यको अवस्थाबारे जानकारी लिएको र शुक्रबार साझ मर्मत कार्य सकिने र शनिबार बिहानबाट पुनः हवाई सेवा सुचारु हुने बताएका छन् ।

धावनमार्ग (रनवे) को एक ठाउँमा काम सकेलगत्तै पुनः दोस्रो ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि पुनः विमानस्थल बन्द गरिएको हो। सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द हुने भएको छ।
मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको थियो। खाल्डो पुर्ने काम भइरहेको बेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए।

रनवेमा पानी निस्किएपछि विमानस्थल बन्द गरिएको उनले बताए। प्रमुख काफ्लेले शनिबारसम्म काम सकिने र हवाई सेवा पुनः सञ्चालन हुने जानकारी दिए।
अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भए पनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए। विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपरेको उनले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्