सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का चुपचाप देश दौडाहामा छन् । कारण हो पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको तयारी । नेता डा। शेखर कोइराला घोषित रूपमै सभापतिका लागि देश दौडाहामा छन् भने महामन्त्री गगन थापा पनि माहौल बनाइरहेका छन् ।

कांग्रेसको सभापति उम्मेदवार बन्ने सम्भावना देखिएका अर्का नेता हुन् खड्का । अहिले तीनै जना नेताहरू आ-आफ्नो तयारीमा देश दौडाहामा छन् । तर, उनीहरू सबैको आस सभापति शेरबहादुर देउवासँग छ । तर कांग्रेसको संस्थापन समूहमा सभापति देउवाले कसलाई समर्थन गर्छन् खुल्ने बेला भएको छैन । तर, आकांक्षीहरूले आफ्नो तयारी गर्दै जिल्ला जिल्ला पुग्ने अनि नयाँ समूह निर्माण गर्ने समय भने भएको छ ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने खड्काको कर्णालीबाहेक अन्य प्रदेशमा धेरै प्रभुत्व छैन । संस्थापन समूहको लिगेसीमा उनी अन्य प्रदेशमा जानुपर्ने हुन्छ । कर्णालीका नेताहरूको भनाइमा विश्वास गर्ने हो भने प्रदेशमा उनलाई दुईतिहाइ समर्थन छ । अर्थात् पार्टीको प्रदेशभर एक्लै व्यक्तिको नाममा उनको प्रभाव छ ।
खड्का पार्टीभित्र कडा स्वभावका नेताका रूपमा चिनिन्छन् । उनलाई कार्यकर्तासँग पनि नम्र हुन नसक्ने नेताको रूपमा बुझिने नेताहरू बताउँछन् । गलतलाई ठाडै गलत भन्ने प्रवृत्ति भए पनि घुमाउरो भाषामा भन्दा र सिधा भन्दा फरक पर्ने र मानवीय स्वभावसँग पनि जोडिने भएकाले स्वभावले गर्दा खड्कालाई घाटा लाग्न सक्ने उनीनिकट नेताहरू बताउँछन् । त्यसमाथि सभापति देउवासँग रहेका खड्काले उपसमूह बनाउन लागेनन् ।
किसुनजीलाई पछ्याउने नेताहरूमा खड्का पनि हुन् । किसुनजी पछ्याउने नेताहरू खड्कानिकट रहेका छन् । नेता खुमबहादुर खड्कानिकट नेताहरू एक समय पूर्णबहादुर खड्कालाई नेता मान्न तयार थिए । तर, उनले आफूलाई उभ्याउन नसकेको नेताहरू बताउँछन् ।
पुष्पा भुसाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, मोहन बस्नेतलगायतका नेताहरू खड्कासँग निकट छन् । तर उनीहरूले खड्कालाई कुन तहसम्म सहयोग गर्छन् अहिले नै भन्न सकिने अवस्था छैन । अहिले दर्जन हाराहारीमा केन्द्रीय सदस्य खड्काको समर्थनमा छन् । यसलाई बढाएर लैजाने दौडमा भने कांग्रेसमा शेखर कोइराला, गगन थापालगायतका सभापतिका आकांक्षीहरूसँगको तुलनामा कमजोर छन् ।
कर्णालीमा संस्थापन पक्षका नेताहरूमा जीवनबहादुर शाही, राजीवविक्रम शाह, जानकी सिंह, कान्तिका सेजुवाललगायत छन् । त्यस्तै, अहिलेका वनमन्त्री एन बहादुर शाही (मुगु कांग्रेस सभापति), राष्ट्रियसभाको सचेतक कृष्ण रोकाय ९कर्णली प्रदेश कमिटीका महामन्त्री० लगायतका नेताहरू पनि खड्कानिकट छन् । सांसद मानबहादुर नेपाली पनि खड्कानिकट रहेको नेताहरू बताउँछन् ।
‘दाइसँग कुरा गर्दा इमानदारीका साथ काम गरेको छु । अब सहमहामन्त्री, महामन्त्री, उपसभापति भए अब सभापति हुनुबाहेक अर्को विकल्प छैन भन्नुभएको छ । उहाँको इच्छा छ,’ खड्कानिकट नेता राजीव शाहले भने ।
पार्टीको तहगत रूपमा नेतृत्वमा पुगेकाले सभापतिबाहेक अन्य पदमा आफू चुनाव नलड्ने उनले निकटहरूसँग बताउँदै आएका छन् । खड्का नेतृत्व गर्नेभन्दा पनि नेतृत्वलाई व्यवस्थापन गर्ने नेताको रूपमा चिनिएका छन् । किनकि उनले पहिलो बनेर पार्टीका कुनै पनि संगठन चलाएका छैनन्, दोस्रो तहमा रहेर सपभाति देउवालाई अहिले सघाइरहेका छन् ।
सभापतिको उम्मेदवार बन्ने तयारी गरिरहे पनि महाधिवेशनका लागि समय रहेकाले सबै कुरा प्रस्ट हुन बाँकी रहेको नेता रामहरि खतिवडा बताउँछन् । ‘समय बाँकी छ । सभापतिज्यूको समर्थन लिने पक्षमा हुनुहुन्छ । अरु काम र स्वास्थ्यमा लाग्नुभएको छ । कांग्रेसको महाधिवेशन गर्न समय लाग्छ । संविधान र पार्टी विधानले दिएको दायराभित्र रहेर हुन्छ । यसमा रहेर तयारी गरिरहनुभएको बुझ्छु,’ खतिवडाले भने ।
सभापति देउवाको आस
सभापति देउवाबाट कसले आशीर्वाद पाउँछ भन्ने पर्खाइमा खड्का छन् । देउवाको समर्थन पाउनेमा आशावादी भएर बसेका छन् । पार्टीमा उनी देउवाको प्रतिवद्ध सारथिमध्येका एक हु्न । २०५९ सालमा देउवाले पार्टी विभाजन गरेदेखि हालसम्म पनि देउवालाई नै सघाइरहेका छन् भने देउवाले भनेका कुरा काटेका छैनन् ।
पार्टीको केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै हाल उपसभापति रहेकाले संगठनात्मक रूपमा पार्टी कसरी चलाउने भन्ने अनुभव पनि खड्कामा छ । खतिवडा जस्तै अरु नेता पनि सभापति देउवाको आड पाउनेमा आशावादी छन् । ‘पार्टीमा दोस्रो वरीयतामा बसेर सभापति देउवाको हरेक काममा सघाइरहनुभएको छ । संस्थापन समूहमा अहिलेका नेताहरूमा उहाँको प्रभाव छ । पार्टी चलाउने च्यानल बुझेको र अनुभव पूर्णबहादुर दाइसँग छ । यो कुरा सभापतिले पनि बुझ्नुभएको छ,’ संस्थापन समूहका एक नेताले भने ।
यदि सभापति देउवाले समर्थन जनाएनन् भने के गर्ने भन्ने विकल्प भने नसोचिएको उनीनिकट नेताहरू बताउँछन् । विकल्पका बारेमा पूर्वतयारी गर्ने चरण भएकाले आफ्नो रणनीति बताउन नचाहेको उनीनिकट नेताहरू बताउँछन् ।
खड्का आफैँ के भन्छन् ?
उनलाई लागेको छ, अहिले केही बोलिहाल्ने उपयुक्त समय होइन । ‘साथीभाइसँग छलफलमा छु । अहिले नै भन्ने बेला भएको छैन । सयम आएपछि म भन्ने नै छु । मिडियाले पनि विश्लेषण गरिरहनुभएको छ, । यसबारेमा मेरो टिप्पणी छैन,’ खड्काले भने ।
शिलापत्रको सहयोगमा












प्रतिक्रिया दिनुहोस्