काठमाडौँ : अर्शदीप सिंह र अज्मतुल्लाह उमरजाईले घातक बलिङ गरेपछि पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्स ९एलएसजी० लाई ३७ रनले पराजित गर्दै आइपीएलमा सातौं जित दर्ता गरेको छ। आइतबार धर्मशालामा खेलिएको आईपीएलको ५४ औं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले प्रभसिमरन सिंहको ९१ रन र कप्तान श्रेयस अय्यरको ४५ रनको मद्दतले २० ओभरमा पाँच विकेट गुमाउँदै २३६ रन बनाएको हो। आईपीएलमा चौथो उच्च स्कोर हो। धर्मशालामा, २०११ पछि पहिलो पटक २०० को आँकडा छोएको छ। यसअघि पञ्जाबले आरसीबी विरुद्ध दुई विकेटको क्षतिमा २३२ रन बनाएको थियो। जवाफमा लखनउको टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो। उनीहरुका लागि आयुष बदोनीले सर्वाधिक ७४ रनको इनिङ खेले। यसैबीच, पञ्जाबका लागि अर्शदीपले तीन र उमरजाईले दुई विकेट लिए। यसबाहेक मार्को जानसेन र युजवेन्द्र चहलले एक(एक सफलता पाए।

लक्ष्य पछ्याउने क्रममा लखनउको सुरुवात खराब रह्यो। टोलीले ५८ रनको स्कोरमा चार विकेट गुमाएको थियो। एडेन मार्कराम (१३), मिचेल मार्श (०), निकोलस पूरन (६) र ऋषभ पन्त (१८) प्रभाव पार्न असफल भए। यस्तो अवस्थामा, आयुष बदोनी र अब्दुल समदले मोर्चा सम्हाले। छैटौं विकेटका लागि दुवैले ८१ रनको साझेदारी गरे। यस क्रममा समद २४ बलमा ४५ रन बनाएर आउट भए। त्यसै समयमा, आयुष बदोनीले ७४ रनको बलियो इनिङ खेल्न सफल भए। तर, उनले टोलीलाई जित दिलाउन सकेनन्। आवेश खान र प्रिन्स यादव क्रमशः १९ र एक रनमा अविजित रहे।
प्रभसिमरन सिंहको ४८ बलमा ९१ रनको विस्फोटक इनिङको आधारमा पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्स अगाडि २३७ रनको लक्ष्य राखेको थियो। यस खेलमा पञ्जाबले स्तब्ध पार्ने सुरुवात गरेको थियो। पहिलो ओभरमै आकाश सिंहले प्रियांश आर्यलाई आफ्नो शिकार बनाए। उनले केवल एक रन मात्र बनाउन सके। यसपछि प्रभसिमरन सिंह र जोश इङ्गलिसले जिम्मेवारी सम्हाले। दोस्रो विकेटको लागि दुवै बीच ४८ रनको साझेदारी भयो। आकाश सिंहले विकेटकिपर ब्याट्सम्यान इङ्गलिसलाई पभेलियनको बाटो देखाए। उनी एक चौका र चार छक्काको मद्दतले ३० रन बनाएर आउट भए।
५० रनमा दुई विकेट गुमाएको पञ्जाबलाई श्रेयस अय्यर र प्रभसिमरन सिंहले सम्हाले। दुवैले आक्रामक ब्याटिङ गर्दै तेस्रो विकेटको लागि ७८ रन जोडे। दिग्वेश राठीले कप्तान अय्यरलाई मयंक यादवको हातबाट क्याच गराए। उनी २५ बलमा ४५ रन बनाएर फर्किए। त्यसै समयमा, प्रभसिमरन सिंहले आफ्नो आईपीएल करियरको दोस्रो शतक बनाउन नौ रनले चुके। लखनउ विरुद्ध उनको ब्याटबाट छ चौका र सात छक्का निस्किए। पञ्जाबका लागि नेहल वधेराले १६ रन बनाए भने शशांक र स्टोइनिस क्रमशः ३३ र १५ रनमा अविजित रहे। लखनउका लागि आकाश सिंह र दिग्वेश राठीले दुई(दुई विकेट लिए भने प्रिन्स यादवले एक विकेट लिए।
११ खेलमध्ये सात खेल जितेको पञ्जाब १५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। लखनउ सिजनको छैटौं हारसँगै सातौं स्थानमा छ। उआरसीबी १६ अंकसहित शीर्ष स्थानमा छ भने मुम्बई र गुजरात १४(१४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।












प्रतिक्रिया दिनुहोस्