आरसिबी आइपिएलको प्लेअफ नजिक, दिल्लीलाई हराउँदै उक्लियो शीर्ष स्थानमा

होस्ट खबर १५ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौँ : रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग ९आइपिएल० २०२५ मा सातौं जित निकालेको छ । सातौं जित निकाल्नेक्रममा आरसिबीले आइतबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले हरायो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कृणाल पाण्ड्या र विराट कोहलीले अर्धशतकीय पारी खेले ।

पाण्ड्याले ४७ बलमा पाँच चौका र चार छक्कासहित अविजित ७३ तथा कोहलीले ४७ बलमा चार चौकाको मद्दतमा ५१ रनको पारी खेलेका हुन् । यस्तै, टिम डेविडले अविजित १९ तथा ज्याकब बेथेलले १२ रन जोडे । दिल्लीका लागि कप्तान अक्षर पटेलले दुई तथा दुश्मन्था चामेराले एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टिम दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

उसका लागि केएल राहुलले ४१, ट्रिस्टन स्टब्सले ३४, अभिषेक पोरेलले २९, फाफ डुप्लेसिसले २२, कप्तान अक्षर पटेलले १५ तथा विराज निगमले १२ रन बनाए । आरसिबीका लागि भुवनेश्वर कुमारले तीन, जोश हेजलउडले दुई तथा यश दयाल र कृणाल पाण्ड्याले एकरएक विकेट लिए ।

यो जितपछि आरसिबी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दासम्म सातमा जित र तीन खेलमा हार बेहोेरेको छ । प्लेअफमा स्थान बनाउन आरसिबीलाई अब एक जितको खाँचो छ ।

आरसिबीसँगको हारपछि दिल्ली भने चौथो स्थानमा झरेको छ । उसले ९ म्याच खेल्दासम्म ६ मा जित र तीन खेलमा हारको सामना गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्