काश्मिर आतंकवादी हमला: घुम्न गएका एक नेपाली सहित २७ पर्यटकको गोली हानी हत्या

होस्ट खबर १० बैशाख २०८२, बुधबार
2 Min Read
Aa

एजेन्सी : जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी (एक नेपाली) पर्यटकसहित २७ जनाको मृत्यु भएको छ। घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ।

मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा विदेशी पर्यटकहरु नेपालका एकजना र युएईका एक जना रहेका जनाइएको छ। मृत्यु हुनेमा एक नेपाली पनि रहेको दैनिक भास्करले जनाएको छ । भास्करको समाचारअनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन् । समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ । जम्मु काश्मिरमा मारिनेमा बाँकी पर्यटकहरू गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाको रहेको खुलेको छ।

आतंककारीहरूले पर्यटकहरू घोडामा सवार हुँदा आक्रमण गरेका थिए। बैसरण उपत्यका घना पाइन वनले घेरिएको छ। यसलाई मिनी स्विट्जरल्याण्ड भनेर चिनिने गरिन्छ।

पीडितहरूका अनुसार ती आतंककारीको सानो समुहले पहिले पर्यटकको नाम, ठेगाना सोधेका थिए र त्यसपछि धमाधम गोली बर्साउन थाले । त्यसपछि वरपर रहेका अन्य पर्यटकलाई गोली हानेर भागेका थिए । सेना र प्रहरीको वर्दीमा रहेका आतंककारीको संख्या तीन देखि चार जना रहेको बताइएको छ । ती सबैसँग एके–४७ र अन्य हतियार साथ थिए।

अहिले पूरै क्षेत्रलाई १५ मुख्य बिन्दुबाट घेराबन्दी गरिएको छ। आतंककारीहरुको खोजी गर्न खोजी कुकुर, ड्रोन र हेलिकप्टरको निरन्तर प्रयोग भइरहेको जम्मु काश्मिर प्रहरीले जनाएको छ । जसअनुसार सीआरपीएफ, बीएसएफ र सेनासहित जम्मू कश्मीर पुलिसले सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा खोज अभियान सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सो घटना लगत्तै गृहमन्त्री अमित शाह त्यहाँको स्थितिको जानकारी लिन श्रीनगर पुगेका छन्। अमित शाहले जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासँग श्रीनगरमा हिजो राती नै उच्चस्तरीय बैठक गरेका थिए, सो बैठकमा एलजी मनोज सिन्हासहित धेरै पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्