काठमाडौँ : जिल्ला प्रशान कार्यालय काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत आमसभामा गर्न नदिने भएको छ । राप्रपाले आगामी चैत २६ गते भृकुटीमण्डपमा प्रदर्शन तथा आमसभाको कार्यक्रम राखेको थियो । सुरक्षा संवेदनशीलता देखाउँदै जिल्ला प्रशासन कार्यालयले राप्रपालाई उक्त स्थानमा विरोध प्रदर्शन गर्न दिन नसकिने बताएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिफल चौर वा बल्खुमा प्रदर्शनको लागि स्थान उपलब्ध गराउन सकिने जिल्ला प्रशासन कार्यालयले बताएको छ । ‘अन्य आन्दोलनका कार्यक्रमहरु (शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाको कार्यक्रमलगायत पूर्वनिर्धारित कार्यक्रमहरु पनि) भइरहेको हुँदा सुरक्षा संवेदनशीलताको हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्नु उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयअनुसार अनुरोध छ,’– जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत भनेको छ ।
राप्रपाको प्रदर्शन तथा बृहत आमसभालाई संयुक्त जनआन्दोलन समितिको साथ र समर्थन
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को आयोजनामा हुने प्रदर्शन तथा बृहत आमसभामा आफूहरुको साथ र समर्थन रहेको बताएका छन् । डा. गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको उक्त प्रदर्शन तथा बृहत आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुन भनेका छन् ।
‘चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहेको छ,’– डा. गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संयुक्त जनआन्दोलन समितिको आयोजनामा गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सो हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट २० जना घाइते भएका थिए । सो प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईँ अझै फरार छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक रहेका तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीलाई सरकारले विशेष निगरानीमा राखेपछि उनले डा. गुरुङलाई कार्यवाहक संयोजक तोकेका छन् ।












प्रतिक्रिया दिनुहोस्