काठमाडौँ : राजावादीहरुको हिंसात्मक प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर किर्तिपुर–४ गाम्चाका २९ बर्षीय सविन महर्जन मारिए । सुरक्षाकर्मीले आन्दोलनकारी ठानेका उनी एक सामान्य यातायात मजदूर भएको खुलेको छ ।

घरबाट निस्कँदा उनी बल्खुमा मर्मतका लागि छाडिएको गाडी लिन भनेर गएका थिए । तर, सविन तीनकुनेको प्रदर्शनमा पुगे । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका उनलाई सुरक्षाकर्मीले शिक्षण अस्पताल पुर्याउँदा उनको ज्यान गइसकेको थियो ।
बल्खुको ग्यारेज जाने भनेका ढुक्क महर्जनका परिवार त्यतिबेला आत्तिए, जब शिक्षण अस्पतालबाट उनीहरुलाई फोन गयो । उनकी श्रीमती भविषा ठकुरी आत्तिदै शिक्षण अस्पताल पुगिन् । सविनको छातीमा गोली लागेको थियो । भविषा बेहोस भएर ढलिन् । एक रात अस्पतालमै बसेकी उनी शनिबार मात्र घर फर्किएकी छिन्।
सविन कुनै राजनीतिक कार्यकर्ता थिएनन् । जुलुस–प्रदर्शनमा पनि यसअघि सहभागी भएको छिमेकी र साथीभाइलाई थाहा छैन । राजावादी आन्दोलनका समर्थक पनि नभएको परिवारका सदस्यहरु बताउँछन् । बल्खु गएका उनी कसरी तीनकुने पुगे भन्ने परिवारले पत्तो पाउन सकेको छैन । साथीहरुको लहैलहैमा वा कुनै काम परेर जाँदा उग्र प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परेको हुनसक्ने आफन्तले अनुमान गरेका छन् ।
पेसाले सविन सामान्य यातायात मजदूर हुन् । उनी १० वर्षदेखि काठमाडौँ–हेटौडा सुमो गाडी चलाउँदैआएका थिए । बिहिबार गाडी सर्भिसिङका लागि बल्खुमा छाडेर घर पुगेका उनी बिहान १० बजेतिर गाडी लिन भनेर निस्केका थिए ।
अनपेक्षित घटनाले सविनको परिवार मर्माहत भएको छ । श्रीमती भविषा र सात बर्षिया छोरी बिचल्लीमा परेका छन् । कीर्तिपुर–४ का वडाध्यक्ष राजेन्द्र बानियाँ अनाहकमा निर्दोष युवाले ज्यान गुमाएकोमा दुःख लागेको बताउँछन् । उनले पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । हिमालखबरबाट












प्रतिक्रिया दिनुहोस्