काठमाडौँ : काठमाडौंको तीनकुनेमा भएको राजवादीहरूको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’उनले कर्फ्यु आदेश गरिसकेको भए पनि अवस्था सामान्य नबनेको बताए ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चा र विभिन्न राजावादी समूहले शुक्रबार एकैदिन परस्पर विरोधी प्रदर्शन गर्ने भएपछि सुरक्षा समीक्षापछि मंगलबारै उनीहरूका लागि प्रदर्शन गर्ने स्थल तोकियो । समाजवादी मोर्चाले प्रदर्शनी मार्गमा प्रदर्शन गर्ने स्थान पाए । उता राजावादीहरूका लागि तीनकुने क्षेत्र दिइयो ।
समाजवादी मोर्चाको शक्ति प्रदर्शन शान्तिपूर्ण भयो भने राजावादीको प्रदर्शन भने अराजक र हिंस्रक भयो । र कर्फ्युसमेत लगाउनुपर्ने सेना सडकमा आउनुपर्ने परिस्थिति बन्यो ।
यसरी राजावादीको प्रदर्शनले निजी सम्पत्ति र सरकारी सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ । उनीहरूले तीनकुने क्षेत्रमा निजी घरहरूमा तोडफोड गरेका छन् भने आगजनी पनि भएको छ । र केही गाडीहरूमाथि आगजनी भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एसको केन्द्रीय कार्यालयमा क्षति गरिएको छ भने जडिबुटी प्रशोधन केन्द्रसमेत राजावादीको निसानामा परेको छ ।
शुक्रबार तीनकुने क्षेत्र रण मैदान नै बन्न पुगेपछि काठमाडौंको समग्र जनजीवन प्रभावित बनेको छ । यसरी राजावादीको प्रदर्शन अराजक र हिंस्रक भएपछि उनीहरूको आन्दोलनबारे सरकारको तयारी र सुरक्षा समीक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
राजावादीहरूलाई प्रदर्शन गर्न तीनकुने क्षेत्र उपलब्ध गराउँदा मुख्य गरी दुई कमजोरी जा चुक भएको देखिन्छ । तीनकुने क्षेत्र राजधानी काठमाडौंको मुख्य व्यस्त रहने स्थानमध्येको एक हो भने यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय गेटवे पनि हो । यस्तो संवेदनशील क्षेत्रमा प्रदर्शनका लागि अनुमति दिनु नै काठमाडौं जिल्ला प्रशासन कार्यालयको गल्ति देखिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटो मात्र नभई तीनकुने नजिक विमानस्थल छ भने पेट्रोलियम पदार्थको ठूलो भण्डारण पनि छ । यहाँ भड्किने हिंसाको लप्का त्यहाँसम्म पुगेको भए अकल्पनीय अवस्था आउन सक्नेतर्फ प्रशासन गम्भीर भएको देखिएन ।
ऋन् न्चयगउएचबदजग
यति मात्र होइन, तीनकुने क्षेत्र एक महत्वपूण क्षेत्र पनि हो । यहाँ दुई वटा पार्टीका केन्द्रीय कार्यालय छन् भने दुईवटा सञ्चार माध्यमहरू पनि कार्यालय छन् । राजावादी प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा तोडफोड गरे भने माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा तोडफोड प्रयास भयो । त्यति मात्र होइन भाटभटेनी सुपरमार्केट तथा अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि तोडफोड भयो ।
स्थानीय प्रशासनबाट भएको अर्को चुक सूचनाको संकलन र त्यसको समीक्षामा देखिन्छ । यो आन्दोलनको कमान्डर तोकिएका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं अराजक व्यक्ति हुन् भन्ने कसैबाट छिपेको छैन । उनका हरेक गतिविध र अभिव्यक्ति अराजक हुन्छन् । यस्ता अराजक व्यक्तिले नेतृत्व गर्ने आन्दोलन अराजक हुन सक्छ भन्नेमा सूचना संकलन र त्यसको विश्लेषणमा सुरक्षा कमजोरी सतहमा आयो । हुन त तीनकुनेबाट नयाँबानेश्वरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर, अराजक प्रसाईं आफैँ निषेधित क्षेत्र तोडेर नयाँबानेश्वरस्थित संसद भवन कब्जा गर्ने भन्दै पुलिसमाथि गाडी चलाएर अगाडि बढे । उनी यतिसम्म अराजक हुनसक्छन् भन्ने समीक्षा भएको भए तीनकुने क्षेत्र प्रदर्शनका लागि दिइने नै थिएन ।
त्यति मात्र होइन, प्रसाईले यसअघि पनि भन्दै आए जसरी प्रदर्शनकारीहरूले खोजी खोजी निजी सम्पत्ति र पार्टी कार्यालयहरूमा आक्रमण भएको छ । प्रसाईं नेकपा माओवादी केन्द्र र नेकपा एससँग मात्र नभई सबै पार्टीहरूलाई सार्वजनिक रूपमै गाली गर्दै आएका छन् । र उनले सञ्चार माध्यमहरूलाई पनि गाली गरिरहन्छन् । तीनकुने क्षेत्रमै उनले यसअघि पनि गाली गर्ने पार्टी कार्यालय र सञ्चार माध्यमका कार्यालयहरू पनि छन् भन्ने हेक्का स्थानीय प्रशासनले राखेको देखिएन । र प्रसाईंले आलोचना गरिरहने भाटभटेनीमा पनि तोडफोड र लुटपाट भयो । यसले उनीहरू सुनियोजित रूपमै तोडफोड र आगजनीमा उत्रेको देखिन्छ । तर यो सूचना नपाउनु सुरक्षा निकायको कमजोरी देखिएको छ ।












प्रतिक्रिया दिनुहोस्