कर्णालीबाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना

होस्ट खबर २५ असार २०८१, सोमबार
2 Min Read
Aa

सुर्खेत : देशका केही प्रदेशमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्