सुर्खेतमा रुट परमिट नलिएका अटो रिक्सालाई कारवाही

होस्ट खबर २१ असार २०८१, बिहीबार
2 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगररमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न अटोरिक्सा अनुगमन थालिएको छ । इरिक्सा व्यवस्थापनलाई चुस्त, दुरुस्त राख्न वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा शुक्रबारदेखि बजार अनुगमन कार्यलाई तिब्रता दिइएको हो ।

जिल्ला प्रहरी, नगर प्रहरी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन लगाएतको संयुक्त अनुगमन टोलीले अटोरिक्सा चेकजाँच गर्न सुरु गरेको छ । सोमबार ऐरिचोकमा करिब एक घण्टा बढि अटोरिक्सा अनुगमन गरिएको थियो ।

एक हप्तासम्म संचालन हुने यस अभियानका क्रममा अटोरिक्साहरुको रुढ परमिट र आवशयक कागजात चेकजाँच गर्ने गरिएको वीरेन्द्रनगर नगरपालिकाका उद्योग शाखा प्रमुख दिपेन सुवेदीले बताए ।

‘बढिरहेको सवारी चापलाई व्यवस्थित गर्न पहिलो चरणमा पालिकाभित्र सञ्चालन भएका अटोरिक्साहरुको रुढ परमिट लिए नलिएको र कागजात छन् या छैनन् भन्ने बारेमा अनुगमन भइरहेको छ’ उनले भने, ‘यात्रु सुरक्षा र चालक स्वयंमको सुरक्षाको कुरा पनि जोडिन्छ । यसबारे सचेतना फैलाउने काम भइरहेको छ ।’

उनका अनुसार नगरपालिका क्षेत्रभित्र अटो चढ्ने वित्तिकै २० रुपैयाँ, पक्कि बाटोमा प्रति किलोमिटरको थप ८ रुपैयाँ र कच्चि बाटोमा १२ रुपैयाँका दरले शुल्क निर्धारण गरिएको छ । भाडादर अटोमा टाँस गर्नुपर्ने र सोही अनुसार लागु गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन भए नभएको बारेमा पनि अनुगमन भइरहेको छ ।

उद्योग शाखा प्रमुख सुवेदीले भने, ‘यातायात व्यवस्था कार्यालय, बीमा कम्पनी लगाएतबाट लिनुपर्ने कागजात र कुन क्षेत्रमा संचालन हुने हो नगरपालिकाबाट रुढ परमिट लिए नलिएको अवस्था अनुगमन भइरहेको छ ।’

उनका अनुसार हाल भ्याली भित्रमात्रै रुढ परमिट दिने गरिएको छ । भने भेरी, गिरीघाट लगाएत भ्याली बाहिरका केहि स्थानका लागि अस्थायी पटके पास दिनेबारे छलफल चलेको छ । अनुगमनको क्रममा कागजात नभएका र नबोकेका चालहरुलाई बाटोमै आधा घण्टा रोकेर यसबारे सचेतनामुलक जानकारी दिएर पठाउने गरिएको छ ।

पहिलो चरणमा सचेतना फैलाउने र अटेर गरेको खण्डमा दोस्रो चरणमा अटोरिक्सा नै जिल्ला टफिक कार्यालयमा केहि दिन होल्ड गराउने र सबै कागजात पूर्ण रुपमा तयार गरीसकेपछि मात्रै अटोरिक्सा चलाउन अनुमति दिने तयारी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्