‘हाइटेक’ नर्सरीका नाममा भ्रष्टाचार, सिम्ताका पुर्ब-अध्यक्षसहित ११ जनाले पाए सफाई

होस्ट खबर १८ असार २०८१, सोमबार
1 Min Read
Aa

सुर्खेत : सिम्ता गाउँपालिकामा ‘हाइटेक’ नर्सरीका नाममा भ्रष्टाचारको आरोप खेपेका ११ जनाले सफाई पाएका छन् । विशेष अदालतले सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसीसहित ११ जनालाई आज सफाई दिएको हो । उनीहरुविरुद्ध पाँच महिनाअघि मुद्दा दायर भएको थियो ।

विशेष अदालतका सदस्यहरु खुसीप्रसाद थारू, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरुलाई सफाई दिने फैसला गरेको हो । सुर्खेतको सिम्ता गाउँपालिका–५ आलीमा ‘हाइटेक’ उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार गर्ने नाममा ८४ लाख ८६ हजार रुपैयाँ सरकारी रकम नोक्सान गरेको भन्दै गत फागुन २३ गते सोही रकम बराबरको बिगो मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष केसीसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अध्यक्ष केसीसहित डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेञ्जर कमल चित्रकार, भोजप्रसाद उपाध्यायले सफाई पाएका छन् ।

त्यस्तै, सिम्ता ‘हाइटेक’ नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, सचिव चन्द्रप्रकाश थापा, कोषाध्यक्ष मीना पोखरेल हमाल, सिड्स प्रालिका सञ्चालक गौतम महर्जन र वडा नं ५ का वडाध्यक्ष मोहनकुमार बिसीले समेत विषेश अदालतबाट सफाई पाएका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्